गोविन्द बस्नेत
धरान, ४ असोज : लामो अर्थात आठ बर्षपछि नेपालमा जनताले चुनेको सभासदबाट संविधान निर्माण भएको छ । असोज ३ गते राष्ट्रपति डा. रामवरण यादवले औपचारिक रुपमा संविधानको घोषणासंगै मुलुकभरि हर्षोल्लास छाएको छ भने देश विदेशबाट यसको स्वागत गरिएको छ ।
नेपाली जनतामा छाएको निराशा र अनिश्चितताको अन्त्य भएसंगै आशा र सद्भावको नया युग प्रारम्भ भएको छ भन्दै जनतामा छाएको निराशा र अनिश्चिताको अन्त्य भएको महसुस गर्दै देशभरै विजयी जुलुस निकाल्ने क्रम जारी छ ।
यसै बीच धरानमा समेत धरानका राजनीतिक दल, समाजसेवी,बुद्धिजीवि, पत्रकार, व्यापारी व्यवसायी लगायत सम्पूर्ण वर्ग समुदाय सम्मिलित समुदायले हर्षोल्लास नया संविधानको स्वागतार्थ नारा जुलुससहित धरानको परिक्रमा गरी धरान १२ चतरालाईनमा अवस्थित पब्लिक उच्च माविमा विशाल जनसभाको आयोजना गरिएको छ ।
र्यालीमा सहभागीहरुले मादल बजाएर ‘धरान बजार नया संविधानमा खुशी छन् जनता हजार’ भन्ने गीत गाएर स्वागत गरेका थिए ।
हजारौ भीडका माझमा भएका जनसभामा नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले संविधान आएकोमा खुशी व्यक्त गरे ।
जनसभालाई सम्बोधन गर्दै नेकपा एमाओवादीका नेता मुक्साहाङ मेन्याङवोले ७० बर्ष भन्दा लामो जनताले आशा गरेको जनताको संविधान निर्माण भएकोमा सबै खुशी हुनुपर्नेमा जोड दिनुभयो । उहाले नेपाली जनताको सबैको भावना समेटेर संविधान नआए पनि पहिलो पटक ऐतिहासिक रुपमा जनताले चुनेको प्रतिनिधिबाट संविधान निर्माण भएकोमा यसलाई सकारात्मक रुपमा लिए अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सुनसरी क्षेत्र नं. १ का सभासद कृष््णकुमार राईले अहिले जारी भएको संविधानले आधा खुशी आधा आशा बोकेर आएको बताउनुभयो । उहाले १ सय २५ जातजातिलाई समेटेर संविधान निर्माण हुन अत्यन्तै कठिन भएकोले यो ऐतिहासिक कुरालाई ग्रहण गरेर असन्तुष्ट पक्षलाई समेत समेटर जानुपर्नेमा जोड दिनुभयो ।
स्वस्फूर्त रुपमा निस्केको जनसागरमा उपस्थिति सबै पक्षर्ले नयाँ संविधानले शान्ति र स्थायित्व ल्याउने अपेक्षा गरेका छन् ।
संविधानसभाबाट संविधान जारी भएपनि अबका चुनौतिहरु पनि त्यतिकै भएको उनीहरुको भनाई छ ।
नेपालको सविधानसभाबाट संविधान बनाउने कुरा वि.सं. २००७ सालदेखि नै उठेको भएपनि राजनीतिक खिचलो, आन्तरिक एवम् वाह्य द्वन्द्वका कारण आज ६५ बर्षपछि आएर आफूले चुनेको जनप्रतिनिधिबाट संविधान बनेको भन्दै यसलाई सकारात्मक रुपमा लिएर जानुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
