सडक तथा पूर्वाधार निर्माणका नाममा नेपालको उत्तरमा ३४ हेक्टर जमिन मिचिएको पुष्टि नेपाल सरकार कृषि मन्त्रालय नापी शाखाद्वारा दश वर्ष अगावै जमिन मिचिएको तथ्यांक सार्वजनिक

धरान । सडक विस्तार तथा पूर्वाधार निर्माणका नाममा उत्तरी सीमा क्षेत्रमा नेपालको ३४ हेक्टर जमिन चीनले मिचेको पुष्टि भएको छ । नेपाल सरकार कृषि मन्त्रालय नापी शाखाद्वारा दश वर्ष अगावै नेपाली भूमि मिचिएको तथ्यांक सार्वजनिक भएको थियो । कृषि मन्त्रालयको नापी शाखाले तथ्यांक सार्वजनिक गरे तापनि नेपाल सरकारका तर्फबाट कूटनीतिक पहल हुन नसक्दा नेपाली भू–भाग सदाका लागि चीनको स्वशासित क्षेत्र तिब्बततर्फ गाँभिन पुगेको छ । नेपाल–चीन सीमा तिब्बतको स्वशासित क्षेत्रसँग १ हजार ३ सय ७९ किमी जोडिएको छ । वि.सं. २०७२ साल जेठमा कृषि मन्त्रालय नापी शाखाको कृषि–नापी पत्रसंख्या ४÷२०७२ मा नेपालका उत्तरी सीमाहरूमा देखा परेका केही अप्ठ्याराहरू सम्बन्धमा जारी छोटो प्रतिवेदनमा नेपालको ३४ हेक्टर जमिन मिचिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ वटा भन्ज्याङ नाकाहरू रहेका छन् । तिनै भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । त्यस्ता सीमा नाकाहरूमध्ये ६ वटा मुख्य व्यापारिक नाका छन् भने अन्य दर्जनौं परम्परागत व्यापारिक नाका रहेका छन् । हाल चीनले ६ वटै व्यापारिक नाकासँगै अन्य परम्परागत नाकाहरू खुल्ला गरिसकेको छ ।


मन्त्रालयको नापी शाखाका अनुसार चीनद्वारा नेपालको भूमि मिचिने कार्यलाई बेलैमा रोक्न सकिएन भने सयौं एकड नेपाली भू–भाग तिब्बततर्फ जाने र नेपाली भू–भागमा तिब्बती बीओपी (Border Observation Post Of Armed Police ) को तैनाथी हुने कुरामा सतर्क गराएका छन् । मन्त्रालयको नापी शाखाले तिब्बत स्वशासित चीनको सीमा क्षेत्रमा सुविधा विस्तार हुँदै गएको, सडकको सञ्जाल फैलिँदै (Expansion ) गएकोले त्यहाँका नदी–खाला पनि नेपालको सीमाभित्र पस्दै आएकोले हाम्रो भू–भाग चीनतर्फ गइरहेकोमा ध्यान पु¥याउनु जरुरी रहेको जनाएको छ । मन्त्रालयले नेपाल–चीन (तिब्बत) सीमा नदीको सीमांकन २०७२ जेठ महिनामा ५ वटा सर्भेयर तथा २० वटा नाप नक्सामा सहयोग गर्ने टोलीहरूले तयार पारेको तथा नदीले कटान गरेको नामावली कृषि मन्त्रालयमा बुझाएको छ । सर्भेयर तथा सहयोगी टोलीले भन्ज्याङ नाकाहरू बाहेक नदी तथा खोलाले छुट्याएका स्थानहरूमा मात्र त्यसबेला सर्भे गरेको थियो । टोलीले त्यस्ता ११ स्थानमा सर्भे गर्दा हुम्ला जिल्लासँग जोडिएको तिब्बतको फुराङ्ग जिल्ला (काउन्टी) मा रहेको भागदार घोघा नदी क्षेत्रमा ६ हेक्टर, हुम्लाकै फुराङ्गसँग जोडिएका कर्णालीमा ४ हेक्टर, तिब्बतको केरुङसँग जोडिएको रसुवाको सिरेत खोलामा २ हेक्टर, तिब्बतको केरुङ काउन्टीसँग जोडिएको रसुवा जिल्लाको भुर्भुग खोलामा १ हेक्टर, तिब्बतको केरुङसँगै जोडिएको रसुवाको जम्बु खोलामा १ हेक्टर, तिब्बतको केरुङसँगै जोडिएको रसुवाको जिम्बु खोलामा १ हेक्टर, तिब्बतको न्यालम जिल्लासँग जोडिएको सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, तिब्बतको न्यालम जिल्लासँग जोडिएको सिन्धुपाल्चोककै भोटेकोशीमा ४ हेक्टर, तिब्बतको टिनाकेइ जिल्लासँग जोडिएको संखुवासभाको खुमजुम खोलामा ३ हेक्टर, तिब्बतको टिनाकेइ जिल्लासँग जोडिएको संखुवासभाको काम खोलामा २ हेक्टर, तिब्बतको टिनाकेइ जिल्लासँग जोडिएको संखुवासभाको अरुण नदीमा ४ हेक्टर नेपाली भू–भाग चीनले मिचेको मन्त्रालयको प्रतिवेदनमा सर्भेको रिपोर्टले स्पष्ट पारेको छ । नेपाल सरकारले नेपाली भूमि चीन स्वशासित क्षेत्र तिब्बततर्फ गाँभिँदा समेत कुनै प्रतिक्रिया नदेखाएपछि नेपाल सरकार कृषि मन्त्रालयको नापी शाखाले १० वर्ष यता कुनै प्रकारको सीमा सर्भे पुनः गरेको छैन । यस बीचमा अन्यत्र समेत नेपाली भू–भाग मिचिएको हुनसक्ने सीमाविद्हरूले औंल्याएका छन् ।

तपाईको प्रतिक्रिया