इलाम । ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ आगामी वैशाख १८ र १९ गते इलाममा पाँचौँ अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हुने भएको छ ।
आयोजक इलाम नगरपालिका नगर साहित्य तथा कला प्रतिष्ठान र इलाम साहित्य समाजले चैत ११ गते पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । महोत्सवमा विगतका वर्षमा झैँ नेपालका सातै प्रदेशका कवि, कवयित्री, साहित्यकार, लेखक तथा बौद्धिक व्यक्तिसँगै छिमेकी भारतको दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर, गोरखपुर लगायतका स्थानका साहित्यकारहरूको सहभागिता रहने जनाइएको छ ।

यहाँ स्मरणीय कुरा के छ भने वि.सं. २००९ साल वैशाख १८ गते नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, धरणीधर कोइराला लगायतका मूर्धन्य साहित्यकारहरूले इलामको फाकफोकमा साहित्यिक सम्मेलन गरेका थिए । आयोजकले यसै दिनको स्मरणमा विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको आयोजना गर्दै आएको छ । नगर साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले दिएको जानकारी अनुसार विगतका महोत्सवले इलामबासीहरूमा पठन संस्कृतिको विकास भएको छ, कला साहित्यतर्फ उनीहरूको रुचि बढेको छ । अर्कातर्फ भारतीय साहित्यकार समेत नेपाली साहित्यतर्फ आकर्षित हुन थालेका छन् । उनीहरू नेपाली भाषा र साहित्यको अध्ययन र लेखनमा संलग्न हुन थालेका छन् । यो हाम्रा लागि खुसीको कुरा हो । अध्यक्ष थाम्सुहाङका अनुसार यस पटकको पाँचौँ महोत्सवमा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व तिलविक्रम नेम्बाङ (वैरागी काइला) को नागरिक अभिनन्दन गर्ने निर्णय भएको छ ।
