धरान । फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन उत्साहजनक सहभागितासहित नेपाली जनताले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै सफलतापूर्वक सम्पन्न भएकोमा नेपालको निकट छिमेकी मुलुक भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले नेपालमा भएको निर्वाचनका सम्बन्धमा सञ्चारमाध्यमका जिज्ञासाहरूप्रति प्रतिक्रिया दिँदै त्यस्तो बताउनुभएको हो ।


प्रवक्ता जैसवालले आफ्नो प्रतिक्रियामा भन्नु भएको छ, नेपालमा गत वर्ष घटेका असाधारण परिस्थितिहरूका बाबजुद यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा हामी प्रधानमन्त्री शुशिला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरूलाई हार्दिक बधाई दिन चाहन्छौं । भारतले नेपालमा शान्ति, प्रगति, स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको छ र हाम्रो सोही प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारको अनुरोधमा हालै सम्पन्न निर्वाचनका लागि लजिस्टिक ९बन्दोबस्ती० का सामग्री उपलब्ध गराएको थियो । प्रतिक्रियाको अन्त्यमा भनिएको छ, हामी दुई देश र जनताबीचको मजबुत एवं बहुआयामिक समन्वयलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको अब बन्ने नयाँ सरकारसँग काम गर्न तत्पर छौं ।
