इटहरी / नेपाली काँग्रेसका नेता तथा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार राजीव कोइरालाले आफू पदमा रहँदा मात्र होइन, पदमा नरहँदा पनि सधैं जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा मतदातासँग भेटघाट तथा मत माग्ने क्रममा कोइरालाले पछिल्लो समय केही नयाँ दलहरूले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “नयाँको नाममा भ्रम सिर्जना गरिएको छ, जुन गलत हो। म सधैं जनताकै पक्षमा उभिएको छु र भविष्यमा अझ जिम्मेवार भएर काम गर्नेछु।” मतदातामाझ प्रतिबद्धता जनाउँदै कोइरालाले जनताको सुख–दुःखमा सधैं साथ दिने नेता आफू नै भएको आश्वासन दिलाउनुभयो। “तपाईंहरू ढुक्क हुनुहोस्, तपाईंहरूको पीडामा साथ दिने व्यक्ति म नै हुँ,” उहाँले भन्नुभयो।

सुनसरीका अनुभवी र पुराना नेताका रूपमा परिचित कोइराला दुई कार्यकाल नेपाली काँग्रेस सुनसरीका सभापति तथा निवर्तमान केन्द्रीय सदस्य रहनुभयो । उहाँले २०७४ सालमा कोशी प्रदेशमा नेपाली काँग्रेसको संसदीय दलको नेताको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ। स्वच्छ छविका नेताका रूपमा चिनिएका कोइरालालाई मतदाताहरूले निष्ठापूर्वक राजनीति गर्दै आएको भन्दै निर्वाचन जितेपछि पनि यही मार्ग कायम राख्न सुझाव दिएका थिए। कोइरालाले शनिबार बिहान ८ बजेदेखि वडा नम्बर ४ का विभिन्न बस्तीहरूमा पुगेर घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरेका गर्नुभयो। सुनसरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कोइराला यस क्षेत्रका सबैभन्दा ‘हेभीवेट’ उम्मेदवारमध्ये एक मानिन्छन्। नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा निर्वाचन प्रचार समिति सुनसरीका संयोजक राजीव ढुंगानाका अनुसार, “राजीव कोइराला यस क्षेत्रका जनतामाझ व्यापक रूपमा परिचित भएकाले निर्वाचन अभियान सहज भएको छ। यसपटक पार्टीका सबै नेता–कार्यकर्ता संगठित र उत्साहित भएर अभियानमा जुटेकाले पनि काँग्रेसलाई सकारात्मक वातावरण बनेको छ।”
यस निर्वाचन क्षेत्रमा कोइरालासहित राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा, नेपाल कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरी, नेकपा एमालेका सुजन लामा, श्रम संस्कृति पार्टीका चेतन राईलगायत २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा कुल एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन्।

