सम्बन्ध विस्तार गर्न वनभोज कार्यक्रमको आयोजना

धरान । साधारणतया वनभोज रमाइलो, खानपिन र नाचगानका लागि आयोजना गरिने गरिन्छ । तर संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ३ सिभुवाका नेवारी समुदायले यसपटक वनभोजलाई फरक उद्देश्यका साथ सम्झनालायक बनाएका छन् । रमाइलोभन्दा माथि उठेर उनीहरुले पुस्ता हस्तान्तरण र बसाइँसराइका कारण टुट्दै गएको नातागत सम्बन्धलाई पुनः जोड्ने उद्देश्यसहित भित्रका ससुराली, मामली, बुढामामलीभित्रका माइती चेलीबीच भेटघाट तथा चिनजान कार्यक्रमको आयोजना गरेका हुन् । पुस्ता हस्तान्तरणसँगै बसाइँसराइ बढेपछि नजिकका नातेदारसँग समेत चिनजान नहुने अवस्था सिर्जना हुँदै गएको छ । यही यथार्थलाई महसुस गर्दै संखुवासभा जिल्ला अन्तर्गत पाँचखपन नगरपालिका वडा नं. ३ सिभुवाका नेवारी समुदायभित्र पर्ने ससुराली, मामली, बुढामामली तथा माइती चेलीबीच सम्बन्ध सुदृढ बनाउने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको हो । संखुवासभाबाट बसाइँसराइ गरी धरान तथा धरान बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका नातेदार तथा चेलीबेटीलाई आगामी दिनमा समेट्ने दीर्घकालीन योजनासहित हाल धरानमा रहेका नातेदारबीच आपसी चिनजान गराउने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेवारी समुदायका अग्रज विजयकुमार श्रेष्ठ बताउनुहुन्छ । धरान–१६ स्थित तारा स्मृति पार्कमा भेला भएका नेवारी समुदायका नातेदारबीच परिचय आदानप्रदानसँगै खानपिन, नाचगान र आत्मीय भेटघाट भयो । नातेदार नै चिनजान नहुँदा अन्यौलको अवस्था सिर्जना हुने भएकाले विशेषतः यो कार्यक्रम वनभोजको माध्यमबाट चिनजान गराउने उद्देश्यले आयोजना गरिएको नेवारी समुदायकी अग्रज महिला पार्वती ताम्राकार बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया