नेपाली कांग्रेसभित्र षड्यन्त्रकारीहरुको डरलाग्दो चलखेल

यतिबेला नेपाली काँग्रेसको इतिहासकै सबैभन्दा कठिन अवस्थाबाट गुज्रेको छ । उच्चपदीय आकांक्षा बोकेका केही थान षड्यन्त्रकारीहरूले छल, बल, कपट, जालझेलले पार्टी कब्जा गर्ने सफलतापूर्वक यात्राको दुस्साहस गरेका छन् । नेपाली काँग्रेसमा यस प्रकारको परिस्थिति यसभन्दा अगाडि कहिल्यै सृजना भएको थिएन । काँग्रेस प्रजातन्त्रको पक्षधर हो । प्रजातन्त्रका लागि विगतमा कठिन परिस्थितिमा समेत विचलित भएन । तर आज यसैका केही दुष्चक्रीहरूबाट विचलित भएको छ । हुन त आज जे–जस्तो घटनाक्रम विकसित भएको छ त्यसलाई बीपीले आफ्नो जीवनकालमै संकेत गर्नुभएको थियो । मुलुकमा प्रजातन्त्र आएपछि सुकिला मुकिलाहरू आउनेछन्, त्यसका विरुद्धमा इमान्दार कार्यकर्ताहरूले पुनः संघर्ष गर्नुपर्छ । काँग्रेसका लागि अब यो घडी आएको छ । नवधनाढ्य, सुकिला मुकिलाहरूले पार्टीको नीति, केन्द्रीय समितिको निर्णयविपरीत जिल्ला–जिल्लाबाट बोलाइएका हुल्लडबाजहरूको भेलाले नेतृत्व परिवर्तनको डंका पिट्नु, वैधानिक केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिनु प्रजातन्त्रप्रति विश्वास गर्ने हरेक काँग्रेस कार्यकर्तालाई आशंका गर्ने प्रशस्त ठाउँ दिएको छ । हिजो जेनजी आन्दोलनका समयमा शेरबहादुर देउवामाथि राजनीतिक जुन आक्रमण भयो त्यो यतिबेला आएर शंकाको घेरामा परेको छ । देउवालाई हरेक तवरबाट स्खलित गर्ने त्यो षड्यन्त्रको एउटा पाटो थियो । विस्तारै त्यसपछि पार्टी नेतृत्वका विरुद्धमा तानाबाना बुनिँदै गए । तर यो अहिलेसम्मको जति होला भन्ने अनुमान कसैले गरेका थिएनन् । विधानतः काँग्रेस कार्यसमितिको पदावधि चार वर्षको हुन्छ । तर प्रतिकूल परिस्थिति उत्पन्न भएको खण्डमा केन्द्रीय कार्यसमितिको निर्णयबाट एक वर्ष लम्ब्याउन सकिने प्रावधान छ । चार वर्षको पदावधि मंसिरमै समाप्त भइसकेको थियो । आगामी वैशाखमा नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउनु आफैँमा वैधानिक थिएन । नेपाली काँग्रेसलाई क्षतविक्षत बनाउने काममा वर्तमान बाह्य परिचालित नेतृत्व सक्रिय थियो भन्ने कुरा पुष्टि भइसकेको छ । हरेक दृष्टिले पार्टीको विधानले विशेष महाधिवेशन अवैध थियो भन्ने पुष्टि गरिसकेको अवस्थामा निर्वाचन आयोगले हतारहतार त्यसैलाई आधिकारिकताको मान्यता दिनु रहस्यमय छ । न घनीभूत छलफल, न त्यसको वैध–अवैध तौरतरिकाका पाटाहरू केलाउने काम भयो । विशेष महाधिवेशनबाट कथित नेतृत्वमा आएका भनिएका गगन थापा निर्वाचन आयोगले वैधानिकता दिनेमा प्रारम्भदेखि नै ढुक्क थिए । भयो पनि त्यस्तै । सबै कुरा सेटिङमा चलेको स्पष्ट देखिन्छ । शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले निर्वाचन आयोगले ५२ करोडको सेटिङमा थापालाई आधिकारिकता दिएको भिडियो सार्वजनिक गर्नाले आयोगको नियतमाथि नै प्रश्न उब्जिएको छ । जे होस्, काँग्रेस यतिबेला विथोलिएको छ, एउटा पक्षले अर्को पक्षलाई सामाजिक सञ्जालबाट खुइँल्याउने कामले तीव्रता पाएको छ ।

तपाईको प्रतिक्रिया