धरान । भारत सरकारको आर्थिक सहयोगमा कोशी प्रदेशको उदयपुर जिल्लास्थित त्रिजुगा नगरपालिकामा निर्माण सम्पन्न बाल मन्दिर माध्यमिक विद्यालय भवनको माघ १ गते एक विशेष समारोह बीच उद्घाटन गरिएको छ । त्रिजुगा नगरपालिका गाईघाटका नगर प्रमुख बसन्तकुमार बस्नेत र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव गरिमा नौटियालले नव–निर्मित भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । सम्पूर्ण सुविधासम्पन्न तीनतले उक्त विद्यालय भवन भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो भने भवन निर्माण कार्यान्वयन त्रिजुगा नगरपालिकामार्फत गरिएको थियो । श्री बाल मन्दिर माध्यमिक विद्यालय सन् १९८८ मा स्थापित भएको थियो, जसले शिशु कक्षादेखि माध्यमिक तहसम्म अध्यापन गराउँदै आएको छ । यसभन्दा अगाडि जीर्ण विद्यालय भवनका कारण वर्षा र हिउँदमा विद्यार्थीहरूले कष्टकर रूपमा अध्ययन गर्दै आएका थिए । उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यालयका छात्र–छात्रा, स्थानीय बासिन्दा, ल्लास्थित प्रहरी प्रमुख, नेपाल सरकारका कर्मचारी, स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै त्रिजुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले भन्नुभयो, नवनिर्मित विद्यालय भवनबाट विद्यार्थीहरूले सहज ढङ्गले शिक्षा आर्जन गर्न सक्ने भएका छन् । विद्यालय भवन निर्माणमा भारत सरकारले गरेको आर्थिक सहयोगको जति प्रशंसा गरे पनि कम हुने भन्दै उहाँले भारत सरकार तथा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभएको थियो । यसैगरी भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले नेपाल–भारत अत्यन्तै निकट छिमेकी मात्र नभई परम्परा, संस्कृति र रहनसहन एकै भएकाले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताउनुभयो ।


यसैगरी सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ४ स्थित भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सुविधासम्पन्न श्री भुवनेश्वर माध्यमिक विद्यालय भवनको माघ १ गते नै एक समारोहबीच उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव नारायणसिंह र पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । उक्त विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण भएको उक्त परियोजनाको कार्यान्वयन पाटन नगरपालिकाले गरेको थियो । नेपाल सरकारले उक्त विद्यालयलाई सन् २०११ मा १०+२ मा स्तरोन्नति गरेको थियो भने हाल ३ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । उद्घाटनका अवसरमा पाटन नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो । विद्यालय भवन निर्माणले अध्ययनरत विद्यार्थीहरूलाई सिकाइमा सहजता हुने धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी भारत सरकारको आर्थिक सहयोगमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालय भवन निर्माणको शनिबार शिलान्यास गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखर र बुटवल उपमहानगरपालिकाका प्रमुख खेमराज पाण्डेले भवन निर्माणको संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । अत्यन्तै सुविधायुक्त उक्त विद्यालय भवन कक्षाकोठासहित दुईतले हुने, छात्र–छात्राका लागि वासरुमको समुचित व्यवस्था, फर्निचर र पुस्तकालय लगायतका संरचना रहने भएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुने विद्यालय भवनको कार्यान्वयन बुटवल उपमहानगरपालिकाले गर्ने भएको छ ।



