धरान । स्थानीय निकायले स्थानीय क्लबका युवा खेलाडीहरूलाई सम्मान गरेको छ । धरान उपमहानगरपालिका–६ नं. वडा समितिले आफ्नो वडामा खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न स्थानमा सहभागी भई विजेता बन्न सफल खेलाडीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरेको हो । धरानलाई खेलकुदको सहरका रूपमा चिनिँदै आएको छ । विगतमा धरान उपमहानगरपालिकाभन्दा छुट्टै रहेको पानबारी गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं. ६ बनेसँगै यहाँका युवाहरू खेलकुदप्रति थप क्रियाशील बन्दै आएका छन् । उनीहरू विभिन्न स्थानमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउँदै मात्र होइन, उत्कृष्ट प्रदर्शनसहित उपाधि समेत जित्न सफल हुँदै आएका छन् । २०८१ सालदेखि पानबारी फुटबल क्लब गठन गरी वडामै नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न थालिएको हो । क्लबले हालसम्म पानबारी गोल्डकपका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

युवाहरू आफैँ सक्रिय भई फुटबल खेलको विकासमा जुटिरहेको भन्दै वडा समितिले क्लबमा आबद्ध सक्रिय ३० जना खेलाडीहरूलाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले खेलकुदसँग जोडिएर समाज र वडालाई दुव्र्यसनीमुक्त बनाउने अभियानमा युवाहरू सक्रिय रहेकोप्रति प्रशंसा गर्नुभयो । युवाहरूलाई समेट्दै युवा जनशक्तिलाई सही बाटोमा हिँड्न मार्गदर्शन प्रदान गर्ने जिम्मेवारी स्वयं युवाहरूकै भएको उहाँको भनाइ थियो । फुटबल खेलमार्फत गाउँ, समाज, वडा र समग्र धरान उपमहानगरपालिका गर्वान्वित हुने अवसर मिलेको उहाँले बताउनुभयो । त्यसैगरी पानबारी फुटबल क्लबका म्यानेजर श्याम कटुवालले वडा समितिले क्लबको योगदानको कदर गर्दै सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पानबारी फुटबल क्लबले ग्रासरुट तहदेखि नै अनुशासित, मर्यादित र सक्षम फुटबल खेलाडी उत्पादन गर्ने नीति अघि सारेको जानकारी दिनुभयो । सो अवसरमा खेलाडीहरूले भने खेलाडीको निरन्तर मेहनत, राम्रो कोचिङ, अनुशासित खेल प्रदर्शन र टिम भावना नै पानबारी फुटबल क्लबको सफलताको मुख्य आधार भएको बताए । छोटो समयमै क्लबले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको उनीहरूको भनाइ थियो । क्लब गठन भएयता हालसम्म पानबारी फुटबल क्लबले स्थानीय, क्षेत्रीय तथा क्लबस्तरीय विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । क्लबले २०८१ सालमा धनकुटामा आयोजित खडाले सिद्धदेवी कपमा सहभागिता जनाउँदै विजेता बनेको थियो । यस्तै २०८२ सालमा केराबारी, मोरङमा आयोजित मचिन्द्र कपमा समेत विजयी हुँदै ट्रफी उचाल्न सफल भएको थियो । आफ्नै आयोजनामा सम्पन्न पानबारी गोल्डकपको पहिलो संस्करणमा क्लब क्वार्टरफाइनलबाट बाहिरिएको थियो भने दोस्रो संस्करणमा समेत पराजय भोग्नु परेको थियो । यद्यपि छोटो समयमै विभिन्न स्थानमा आयोजना भएका प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको क्लबले पानबारी क्षेत्रमा फुटबल विकासका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । क्लब गठन भएयता युवाहरूको अग्रसरता बढ्दै गएको र उनीहरूको सक्रियतालाई थप प्रोत्साहन गर्ने उद्देश्यले वडा नं. ६ वडा समितिले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
