राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर, क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्रको संयुक्त अधिवेशन सम्पन्न

धरान । राजसंस्था र हिन्दु अधिराज्य स्थापनालाई बटम लाइन बनाएर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले पौष १९ गते धरान नगर समिति, सुनसरी प्रदेश सभा क्षेत्र नं. १ (क) (ख) तथा प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको संयुक्त अधिवेशन सम्पन्न गरेको छ । संयुक्त अधिवेशन उद्घाटनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन मौसम प्रतिकूलताका कारण आउन नसकेपछि वरिष्ठ नेता तथा पूर्व मन्त्री रामकुमार सुब्बाले समुद्घाटन गर्नुभएको थियो । संयुक्त अधिवेशनले सुनसरी क्षेत्र नं. १ क्षेत्रीय अध्यक्षमा दिनेश आचार्य, प्रदेश १ (क) को अध्यक्षमा नविन पराजुली, प्रदेश (ख) को अध्यक्षमा दुर्गाबहादुर बस्नेत, र नगर अध्यक्षमा नरेशकुमार शाक्यलाई सर्वसम्मतले चयन गरेको थियो । सो अवसरमा बोल्दै वरिष्ठ नेता तथा पूर्व मन्त्री रामकुमार सुब्बाले मुलुक अत्यन्तै तरल अवस्थामा रहेको, राष्ट्रिय सुरक्षा र एकतामा चौतर्फी आक्रमण भइरहेकोले राष्ट्र जोगाउन राजसंस्था पुनस्र्थापनाका विकल्प नभएको बताउनु भएको थियो । मुलुकको शान जोगाउन, समृद्धि हासिल गर्न र नागरिकको सुरक्षाका लागि राजसंस्था अपरिहार्य रहेको उहाँले पटक पटक दोहो¥याउनु भएको थियो ।


उद्घाटन समारोहमा आकर्षक वक्ताको रुपमा रहनु भएकी केन्द्रीय नेतृ खुस्बु ओलीले परम्परागत राजनीतिक पार्टीहरुका तीव्र आलोचना र कटाक्ष गर्नुभएको थियो । उहाँले भन्नुभयो जनजी आन्दोलनमा घाइते भएका युवाहरुलाई विदेशमा रोजगारीको अवसर दिने रे । एउटा स्वाभिमानी मानिस लाचार भएको अवस्थामा मात्र परिवारको लालनपालनका लागि विदेश जाने हो । अधिकांश घाइतेहरुको कसका खुट्टा छैनन्, कसका आँखा छैनन्, तिनीहरुलाई समेत विदेशमा रोजगारी दिने वर्तमान सरकारले आश्वासन बाँड्नु दुर्भाग्य हो । उनीहरुलाई ्रराज्यका तर्फबाट त्यस प्रकारको आश्वासन दिनु यो भन्दा लज्जास्पद के हुन सक्छ भनी प्रश्न गर्नुभयो । त्यसले परम्परागत राजनीतिक दल र वर्तमान टीके सरकारले जेनजी युवाहरुको अपमान गरेको छ । अझ एमालेले त जेनजी विद्रोहलाई आतंककारीको संज्ञा समेत दिएको छ । देश बनाउन राजनीतिक पार्टीका नेताहरुमा नैतिकता चाहिन्छ । परम्परागत राजनीतिक पार्टीमा नैतिकता ह्रास भइसकेको छ । त्यसैले अब राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सम्पूर्ण नेपालीहरुले सघाउनुपर्छ । राप्रपाले इमानको राजनीति गरेको छ । उद्घाटन समारोहमा राप्रपाका स्थानीय नेता उद्धव श्रेष्ठ, नेता दुर्गा बहादुर बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन जुद्ध लोहनीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया