यतिबेला मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको छ । परम्परागत राजनीतिक दलहरु कमजोर बनेका छन्, जन आकांक्षाअनुरुप काम गर्न नसक्दा उनीहरु जनतामा जाने ल्याकतमा छैनन् । यस्तो विषम परिस्थिति अर्थात् आरन तातिएको अवस्थामा नेतृत्व हत्याउन घन प्रयोग गर्न उद्यत, अति महत्वाकांक्षी कुपात्र अर्थात् काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत केही इतर समूह विशेष महाधिवेशनको डम्फू बजाएर नेतृत्व हत्याउन उद्यत भएका छन् । वर्तमान समय पार्टीको विशेष महाधिवेशन नभएर आगामी फागुन २१ गते हुन लागेको आम निर्वाचनको हो । संघारमा आएको आम निर्वाचनमा जनमत सिर्जना गर्नुपर्ने अवस्थामा विशेष महाधिवेशनको डम्फू बजाएर नौटंकी गर्नु काँग्रेसको निम्ति घात हो । अवस्था वा परिस्थिति प्रतिकूल हिँड्ने यी दुई कुपात्र यतिबेला काँग्रेसका लागि अभिशाप बनेका छन् । पहिला घर मजबुत बनाउनुपर्छ त्यसपछि घर सञ्चालन वा अभिभावकको जिम्मा कस्ले लिने हो त्यसका लागि को सक्षम छ भनेर परिवारले औँल्याएपछि, सहमति जनाएपछि जिम्मेवारी लिनुपर्छ । तर यी दुई पात्रलाई तत्कालै पार्टीको उच्च पद चाहिएको छ । पार्टीमा अनुशासन सबैभन्दा ठूलो कुरा हो । काँग्रेस नेतृत्वले यस भन्दा अगाडि पौषमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो तर प्रतिकूल राजनीतिक अवस्थाका कारण नियमित अधिवेशन आगामी वैशाखमा गर्ने तय गरिसकेको अवस्थामा ती दुईले विशेष महाधिवेशनको राग अलापेर काँग्रेसको संगठन छिन्नभिन्न बनाउने दुस्प्रयास गरेका छन् । पदको त्यति नै ठूलो महत्वाकांक्षा भए अर्को दल दर्ता गरेर मुख्य पद सम्हाल्दा हुन्छ । नेपालको कानुनले यसमा पूर्ण रुपमा छुट दिएको छ तर काँग्रेस सिध्याउने खेलमा नलागेकै बेस । यसका लागि बेलैमा काँग्रेसको नेतृत्वले महामन्त्रीद्वयका तौरतरिकालाई गम्भीरतापूर्वक लिनुपर्छ । बोरामा कुहिएका एक वा दुई आलुले अरु आलुलाई पनि कुहाउँछ । त्यसैले यस्ता कुहिएका आलु मिल्काउनु नै बेस हुन्छ । अर्थात् ती दुई कुपात्रमाथि कारबाही हुनुपर्छ । समय अगावै अर्थात् पार्टीको नियमित महाधिवेशन अगावै पदिय आकांक्षालाई लिएर भाँडभैलो मच्चाउने अधिकार कसैलाई हुँदैन । आम निर्वाचन अगावै काँग्रेसको नेतृत्व आफूहरुले नपाए आवधिक निर्वाचन नलड्नेसम्मको घुर्की देखाउनु अर्को विडम्बना हो । ती दुई कुपात्रले निर्वाचन नलड्दा काँग्रेसलाई कुनै फरक पर्नेवाला छैन । उनीहरुको घुर्कीको अर्को महत्वपूर्ण पाटो के पनि हो भने आगामी निर्वाचनमा ती दुईले निर्वाचन जित्ने सम्भावना नै छैन । हारिने निर्वाचनमा जानुभन्दा त्यस अगावै घोषणा गरेर उनीहरुले आफ्नो ल्याकत प्रष्ट पारेका छन् । विगतको निर्वाचनमा समेत ती दुई पात्रले लोकप्रियताका आधारमा निर्वाचन जितेको हुँदै होइन । निर्वाचनमा तिनीहरुले हरप्रकारको छल, कपट गरेको कसलाई थाहा छैन ? निर्वाचनको दौरान आफ्नो स्थिति प्रतिकूल बन्दै गएपछि बम विस्फोट गराएर आफूलाई घाइते देखाई सहानुभूति मत बटुलेको जगजाहेर छ । जे होस् पार्टीको नियमित महाधिवेशन बोलाउने अधिकार मूल नेतृत्वमा रहन्छ । विधानले महामन्त्रीलाई अधिवेशन बोलाउने अधिकार दिएको छैन ।
