यलेदोङ संवतलाई स्थापित गर्न खेलकुदको आयोजना

धरान । किराती समुदायको मौलिक नयाँ वर्ष यलेदोङ ५०८६ को अवसरमा धरानमा यलम्बर कप खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिले यलेदोङ सम्बतको प्रवद्र्धन, पहिचान र राज्यस्तरीय मान्यताको मागलाई खेलकुदमार्फत अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत यायोक्खाले प्रतियोगिताबारे जानकारी दिएको छ । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार माघ १ गतेदेखि विभिन्न स्थानमा वडा कार्यसमिति स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ । यलम्बर कपलाई केवल खेलकुद प्रतियोगितामा सीमित नराखी यलेदोङ सम्बतलाई नेपालको मौलिक र प्राचीन सम्बतका रूपमा स्थापित गराउने अभियानको रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो । नेपालकै मौलिक र प्राचीन सम्बत हुँदाहुँदै पनि यलेदोङलाई राज्यले औपचारिक मान्यता नदिएको भन्दै अध्यक्ष राईले असन्तुष्टि व्यक्त गर्नुभयो । भारत वर्षका विक्रमादित्यको नामबाट चलेको विक्रम सम्बत र जिसस क्राइस्टको जन्मसँगै सुरु भएको इस्वी सम्बतलाई राज्यले मान्यता दिएर लागू गरेको अवस्थामा नेपालकै मौलिक पहिचान बोकेको यलेदोङ सम्बतलाई पनि सरकारले स्वीकार गर्नुपर्ने उहाँको माग छ । यायोक्खाले यो माग निरन्तर उठाउँदै आएको र यसपटक प्रचारात्मक अभियानकै रूपमा खेलकुद कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयोे ।
एलम्बर संवत विभिन्न राजनीतिक घट्नाक्रमका क्रममा ओझेलमा पारिएकोले किरात राईहरुको भाषा, संस्कृति र पहिचानलाई जगाउनकै लागि खेलकुदको माध्यमबाट राज्यलाई दबाब दिने उद्देश्यले एलम्बर कपको आयोजना गर्न लागिएको किरात राई यायोख्खा सुनसरीका सहसचिव चन्द्र वान्ताले जानकारी दिनुभयो । यायोक्खा सुनसरीका अनुसार यलम्बर कप ५०८६ अन्तर्गत माघ १ गते प्रतियोगिताको उद्घाटन हुनेछ । माघ २ गते धरान–१० स्थित किराया भवनबाट सुरु हुने ५ किलोमिटर म्याराथुन आयोजना गरिनेछ । माघ ३ गते साकेला साँस्कृतिक पार्कमा बुद्धिचाल (चेस) प्रतियोगिता हुनेछ भने माघ ४ गते सोही स्थानमा छेले खेल सञ्चालन गरिनेछ ।

यसैगरी माघ ५ गते पुरुष फुटसल धरान(१५ स्थित बिग फुटसलमा र महिला फुटसल धरान–८ स्थित हाङ्सा फुटसलमा हुनेछ । माघ ७ गते किरात सुम्निमा भवन इटहरीमा तानबुने खेल आयोजना गरिनेछ । माघ ८ गते धरान–२ स्थित भानुचोकमा थ्री बाइ थ्री बास्केटबल तथा माघ ९ गते धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछन् । यलम्बर कप खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह माघ १० गते अमरहाटस्थित कभर्ड हलमा आयोजना हुने यायोक्खाले जनाएको छ । प्रतियोगितामा व्यक्तिगत तथा संस्थागत रुपमा पुरस्कार वितरण गरिने भएको छ । संस्थागत जुन संस्थाले बढी मेडल ल्याउन सफल हुन्छ त्यसलाई प्रथम घोषणा गर्दै १ लाख ५० हजार सहित यलम्बर कप, दोस्रो हुनेलाई १ लाख र तृतीय स्थान ल्याउने संस्थागत टिमलाई ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया