भारतीय सहयोगमा ओखलढुंगामा विद्यालय भवनको शिलान्यास

ओखलढुंगा । भारत सरकारको आर्थिक सहयोगमा कोशी प्रदेशको ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं। ५ स्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको निर्माण गरिने भवनको पौष ८ गते शिलान्यास भएको छ । उक्त विद्यालयका निर्माण हुने भवनको नेपालस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजन खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । भारत सरकारको आर्थिक सहयोग नेरु ४ करोड भन्दा बढीको लागतमा निर्माण हुने विद्यालयको भवन साढे तीन तलाको हुने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । शिलान्यास गरिएको सो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइने र ओखलढुंगाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने भएको छ ।


विद्यालय भवन शिलान्यासका अवसरमा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय समाजसेवी, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु एवम् अन्य सरोकारवालाहरुले नयाँ विद्यालय भवनका लागि भारत सरकारले उपलब्ध गराउने आर्थिक सहयोगको प्रशंसा गर्नुभएको थियो । यसैगरी लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको घुर्कोट गाउँपालिका वडा नं। ३ स्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास सोही दिन अर्थात पौष ८ गते भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रैंडन र घुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग ३ करोड ८० लाखको लागतमा निर्माण हुने भएको छ । विद्यालयसँगै अन्य पूर्वाधारहरुमा आवश्यक फर्निचरसँगै अन्य सहयोगी संरचना सहित दुई तलाको हुने दूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । सो परियोजनालाई समेत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइने र सोको कार्यान्वयन घुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने भएको छ । शिलान्यासका अवसरमा गाउँपालिकाका अध्यक्ष पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय सरोकारवालासँगै विभिन्न राजनीतिक दलका प्रतिनिधिले नवनिर्मित विद्यालय भवनबाट वर्षौंदेखि कष्टकर रुपमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई ठूलो राहत मिल्ने र उनीहरुका दक्षतामा वृद्धि हुने भन्दै भारत सरकारको सहयोगको प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया