एकदिने निःशुल्क आँखा शविर सम्पन्न

धरान । नेपाल साना उद्योग व्यवसायी संघ धरानको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार एकदिने आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क रूपमा सञ्चालित उक्त शिविरको संयोजकत्वमा हिमप्रसाद ओझा र सुरेन्द्र दाहाल रहनु भएको थियो । धरान उपमहानगरपालिका वडा नं. ३ सदन रोडमा सञ्चालित शिविर बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म सञ्चालन भएको संयोजक सुरेन्द्र दाहालले जानकारी दिनुभयो । शिविरमा १ सय ८८ जनाले आँखा परीक्षण गरेकोमा ४० जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने देखिएको थियो ।

विराटनगर आँखा अस्पतालका आँखा विशेषज्ञ तथा स्वास्थ्य सहयोगीहरू सम्पूर्ण आँखा परीक्षणका उपकरण लिएर शिविर सञ्चालन गरेका थिए । शिविरमा संलग्न चिकित्सकहरूका अनुसार ४० जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने देखियो । उहाँहरूको विराटनगर आँखा अस्पतालले निःशुल्क अप्रेसन गरिदिने समेत भएको छ । मोतियाविन्दु अप्रेसनका लागि छनौट भएका आँखाका बिरामीहरूले खाने, फर्कने खर्च भने आफैंले जोहो गर्नुपर्ने भएको छ । यसका अलावा स्थानीय आयोजकको अनुरोधमा चस्मा तथा औषधि सहुलियत दरमा उपलब्ध गराइने भएको छ ।

तपाईको प्रतिक्रिया