पूर्वका किराँत समुदायद्वारा उधौली (धान्यपूर्णिमा) भव्य रूपमा मनाए

धरान । विगत वर्षहरूमा झैँ यस वर्ष पनि पूर्वाञ्चलमा बसोबास गर्ने किराँत समुदायले उधौली (धान्यपूर्णिमा) भव्यताका साथ मनाएका छन् । किराँत समुदायले पितृहरूको स्मरण गर्दै प्रकृतिको पूजा र उनीहरूको मान–सम्मानका लागि नृत्यको भावभङ्गीमा उधौली पर्व मनाउँदै आएका छन् । हरेक वर्षको मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाका दिन मनाइने उधौली पर्वमा किराँत समुदायहरूले नयाँ अन्नबाली भिœयाएको खुशीयालीमा आफ्ना कुलदेवताहरूलाई चढाउने, नयाँ अन्नबाली खानका लागि अनुमति माग्ने गर्दछन् । खासगरी किराँत समुदायमा याख्खा राईले चासुवा, सुनुवार राई समुदायले फोलस्यादर, अन्य राई समुदायले साकेल र लिम्बू समुदायले चासोक तङ्नाम पर्वका रूपमा उधौली पर्व मनाउने गर्छन् । उक्त दिन किराँत समुदायहरू आफ्नो परम्परागत भेषभूषामा सजिने, साकेला–सिल्ली नाच्ने, च्याब्रुङ बजाएर धान नाच नाच्ने गर्दछन् । उनीहरूले साकेला–सिल्ली स्थानमा विधिपूर्वक पूजाआजा गर्दै प्रकृति, पितृ र अन्नबाली प्रती कृतज्ञता व्यक्त गर्दै एक–अर्कामा शुभकामना आदान–प्रदान गर्ने गरेका छन् ।

धरान, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, गाइघाट (उदयपुर), संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङका विभिन्न स्थानमा यसपटकको उधौली पर्व धुमधामका साथ मनाइएको थियो । यो मध्ये उदयपुरको गाइघाटमा मनाइएको उधौली पर्व विशेष प्रकारको हुने गर्दछ । मंसिर १८ गते गाइघाट बजारमा मनाइएको उधौली पर्व विशेष प्रकारको हुने गर्दछ । मंसिर १८ गते गाइघाट बजारमा बिहानैदेखि आफ्नै भेषभूषामा सजिएका पुरुष र महिलाहरूको बाक्लो चहलपहल देखिएको स्थानीय श्याम राईले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूले ढोल, झ्याम्टा बजाउँदै सेउली हल्लाउँदै सुरु गरेको पर्व एक महिनासम्म चल्नेछ । उनीहरूले माछाकु अर्थात् पितृघरमा धामीद्वारा विशेष पूजाआजा गरेर साकेला थान, शिकारी थान पुग्ने परम्परा रहँदै आएको राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया