तीज आउनु एक हप्ता अगाडि महिलाहरु तीज मनाउन थाले

धरान/ महिलाहरुको अत्यन्तै महत्वपूर्ण चाडको रुपमा मनाइने गरेको तीज पर्व नजिकिदै जादा धरानमा तीज विशेष कार्यक्रमहरु धमाधम हुन थालेका छन ।
पछिल्लो समयमा सबै जातजाति, धर्म मिलेर मनाइने गरेको तीजले समाजमा सकारात्मक सन्देश दिने गरे तापनि तीज भड्किलो र संस्कृतिलाई प्रहार हुने गरी मनाउन थालिएपछि यसको मौलिक संस्कृतिलाई जगेर्ना गर्न भने अत्यन्तै चुनौति बन्दै गएको छ । धरानमा आइतबार र सोमबार मात्र दुई समूहले तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् ।
धरान मनिहारी तथा उपहार व्यापार संघ र सौन्दर्य कला व्यवसायी संघले छुट्टाछुट्टै तीज कार्यक्रमको आयोजना गरे ।
मनिहारीले गरेको कार्यक्रममा गायिका अञ्जु गौतम , गंगा गौतम र गायक राजन क्षेत्रीेले लोकदोहरी गीत प्रस्तुत गरेका थिए भने महिलाहरुलाई सहभागी गराएर मेहन्दी लगाउने प्रतियोगिता समेत समावेश गरेको थियो ।
कार्यक्रममा भिन्दै क्षमता भएकी युवती निलम ढुंगनाले एक खुट्टाको माध्यमबाट विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर त्यहा उपस्थित सबैलाई मनोरञ्जन दिनुभएको थियो । त्यस्तै सामाजिक कार्यमा अग्रसर धरान १५ को फूलबारी आमा समूहले सासू र बुहारीबीच हुने घरायसी द्वन्द्वको विषयलाई नाटकमार्फत प्रस्तुत
गरेको थियो । त्यसैगरी गायिका सविता कटुवालले तीजसम्बन्धी गीत पस्केर उपस्थितलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिकलाईसमेत सहभागी गराई उनीहरुको समेत सम्मान गरेको धरान मनिहारी तथा उपहार व्यापार संघका अध्यक्ष राम स्वरुप शर्माले जानकारी दिनुभयो ।
त्यस्तै सौन्दर्य कला व्यवसायी सघले भने गत बैसाख १२ र २९ गते गएको महाविनासकारी भुकक्पबाट घरबारविहीन भएकाहरुका लागि सहयोगार्थ गरिएको यस तीज कार्यक्रममा धरानका सम्पूर्ण महिलाहरुको सहभागिता रहेको थियो । तीजमा सहभागी महिलाहरुले तीज आउनु अगाडि नै तीजको रौनकता आउनुमा महिलाको विशेष चाड भएकोले बताएका छन् । कार्यक्रममा सहभागी महिलाहरुले जस्तोसुकै र जसरी तीज मनाए पनि आफ्नो सस्कृतिलाई कहिल्यै भुल्न नहुने बताएका छन् ।
यस्तै गरी धरान जेसिसले पनि तीज आउनु अगावै तीज कार्यक्रमको आयोजन गर्ने बताएको छ । सोमबार
धरानमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ २४, २५ र २६ गते तीन दिन जेसिज तीज उत्सव २०७२ मनाउने तयारी जेसिजले गरेको छ ।

तपाईको प्रतिक्रिया