सुनसरी । इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा लागू औषध ट्रामाडोलको अवैध बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ३० गते संयुक्त रूपमा सञ्चालन गरेको कारबाहीमा ठूलो परिणाममा लागू तथा प्रतिबन्धित औषध बरामद भएको छ । इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको संयुक्त टोलीले छापा मार्दै फार्मेसीका सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीलाई नियन्त्रणमा लिएको हो । घर तथा कोठामा खानतलासी गर्ने क्रममा चौधरीकी श्रीमती २४ वर्षीया सम्झना चौधरीले छतबाट दुईवटा बोरा फाल्दै गरेको प्रहरीद्वारा देखिएपछि ती बोरालाई नियन्त्रणमा लिएर जाँच–पड्ताल गरिएको थियो ।

प्रहरीका अनुसार ती बोराभित्र १,९८० पत्ता (१९,८०० क्याप्सुल) ट्रामाडोल फेला प¥यो । यस्तै, घरभित्रको कोठामा रहेको टेबलबाट ४०० पत्ता (४,००० ट्याब्लेट) प्रतिबन्धित औषध समेत बरामद गरिएको छ । बरामद औषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले अवैध औषध बिक्री–वितरणमा संलग्न व्यक्तिहरूलाई कडा निगरानी गर्दै कारबाहीलाई अझ कडा बनाइने जनाएको छ ।
