बेलबारी । एक हप्ता अगाडिमात्र विधिवत् दर्ता गरी कार्यविभाजन बाँडफाँड गरिएको कोशी साहित्य कला परिषद्ले आइतबार ‘अबको बाटो’ शीर्षकमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पसमा परिषद्का प्रमुख सल्लाहकार एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङको आतिथ्यमा उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

परिषद्का सबै कार्यसमितिका सल्लाहकार, सदस्य एवम् पदाधिकारीहरूको अन्तरक्रियामा सहभागिता रहेको थियो । अन्तरक्रिया तथा भेटघाटको अवसरमा सल्लाहकार तथा वरिष्ठ साहित्यकार प्रा.डा. भीम खतिवडा, आख्यानकार डा. छवि बैरागी घिमिरे, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष धनजित
पराजुली, प्रगतिशील लेखक संघ नेपाल कोशी प्रदेशका निवर्तमान अध्यक्ष तिला लेकाली, धिमाल भाषाका कवि तथा नाट्यकार टिकालाल धिमाल, गजलकार रोमु अधिकारी, विराट साहित्य समाजका अध्यक्ष बासु अधिकारीले आगामी कार्य र दिशाका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । यसैगरी, कोशी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीले कोशी साहित्य कला परिषद्को तदर्थ समिति गठन पश्चात् परिषद्ले गरेका साहित्यिक गतिविधि, विधान लेखन तथा विधान दर्तासम्मका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, संस्थाले यस वर्ष प्रकाशन, विमर्श तथा समुदायलक्षित कार्यक्रम गर्ने छ भन्दै जानकारी दिनुभयो । कार्यक्रम परिषद्का अध्यक्ष विरहीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव नवराज पोखरेलले गर्नुभएको
थियो ।
