सुनसरीमा लागूऔषध गाँजासहित स्कार्पियो नियन्त्रणमा, चालक फरार

इटहरी, । सुनसरीमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । बर्जु गाउँपालिका–५, गोचाकामट टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले २५७ किलो ४५० ग्राम गाँजासहित एक स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मिति २०८२ साल कार्तिक २१ गते राति करिब ८ः०० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र इलाका प्रहरी कार्यालय सितगञ्जबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त कारबाही सञ्चालन गरेको हो ।


टोलीले उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो रङको स्कार्पियोलाई पछ्याउने क्रममा गाडी छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ । स्कार्पियोको तलाशी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ११ पोका गाँजा जस्तो देखिने लागूऔषध फेला परेको थियो । बरामद भएको गाँजाको तौल २५७ किलो ४५० ग्राम रहेको जनाइएको छ । प्रहरीले उक्त गाँजा र स्कार्पियो दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, फरार चालकको पहिचान र खोजतलासका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ

तपाईको प्रतिक्रिया