कोशी साहित्य कला परिषद : साहित्यकार तामाङको संयोजकत्वमा सल्लाहकार समिति

बेलबारी (मोरङ) । कोशी साहित्य कला परिषद्को आइतबार बसेको पहिलो बैठकले वरिष्ठ साहित्यकार हर्कमान तामाङको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समितिको सर्वसम्मत चयन गरेको छ । औपचारिक रूपमा कोशी साहित्य कला परिषद् दर्ता गरिएपछि बसेको पहिलो बैठकले धरान (सुनसरी) का प्रा. डा. भीम खतिवडा, मोरङका छवि वैरागी घिमिरे, वैजयन्ती मिश्र र झापाका केशव आचार्यलाई चयन गरेको हो । साहित्यका सबै खालका
विचारलाई एकसाथ अगाडि बढाउने उद्देश्यका साथ गठन भएको कोशी साहित्य कला परिषद्ले संस्थाको आवश्यकता अनुसार सल्लाहकार थप्ने निर्णय समेत गरेको छ । वृहत रूपमा अगाडि बढेको संस्थाले पहिलो बैठकबाटै वार्षिक कार्यक्रमहरू समेत तय गरेको छ । विभिन्न तीन विभाग– भाषा, साहित्य, कला–संस्कृतिका लागि संयोजकहरू समेत तोकेको छ । जसमा भाषा विभाग अन्तर्गत मोरङका बासु अधिकारी, साहित्य विभाग अन्तर्गत सुनसरीका रोमु अधिकारी र कला–संस्कृति विभाग अन्तर्गत मोरङका राजयात्री लम्साल रहनुभएको छ ।

यसैगरी बैठकले प्रत्येक विभागमा ११÷११ जना सदस्यहरूको समेत मनोनयन गरेको छ । संस्थाका सचिव नवराज पोखरेलका अनुसार प्रत्येक विभागमा आवश्यकता र औचित्यका आधारमा सदस्य संख्या समेत थप गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष केशु विरहीका अनुसार यस संस्थाको स्थापना २०८२ साउन ३ गते बेलबारीमा एक वृहत कार्यक्रमको आयोजना गरी गरिएको हो । त्यसबेला गठन गरिएको ११ सदस्यीय तदर्थ समितिले संस्थाको विधान निर्माण गरेको थियो । सोही विधान कार्तिक १८ गते जिल्ला प्रशासन कार्यालय मोरङमा विधिवत दर्ता गरिएको हो । उहाँले भन्नुभयो, नवगठित संस्थासम्बन्धमा धेरैतिरबाट चासो र जिज्ञासा व्यक्त गरिएका छन् । संस्थालाई साहित्यिक चौतारीका रूपमा अगाडि बढाउने कुराप्रति सबैले सकारात्मक प्रतिक्रिया दिएको समेत अध्यक्ष विरहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया