धरान । धरान(१९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायहरुको सहयोगी संस्था रूपमा समाजमा अगाडि उभिएसँगै सर्वत्र प्रशंसा बटुल्दै आएको छ । स्थापना भएदेखि नै केन्द्रले समाजमा रहेका अपांग र असहाय वर्गका व्यक्तिहरूका लागि खाद्यान्न वितरण, निःशुल्क स्वास्थ्य सेवा, बालबालिकाका लागि शिक्षाको पहुँच विस्तार र निःशुल्क शैक्षिक सामग्री वितरणजस्ता कार्यहरू निरन्तर गर्दै आएको छ । यही कारणले केन्द्र आज समाजमा अनुकरणीय संस्थाका रूपमा चिनिँदै गएको हो ।

धरान(१९ स्थित अपांग तथा असहाय केन्द्रले अपांग तथा असहायलाई हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यस संस्थाले विगतमा अस्वस्थहरूलाई निःशुल्क स्वास्थ्य उपचार, शिक्षाको पहुँच नपुगेकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरणमार्फत जीवनयापनमा सहजता ल्याउँदै आफ्नो संस्थागत गरिमालाई निरन्तर उच्च बनाउँदै लगेको छ । पछिल्लो समय केन्द्रले पुनः २० अपांग तथा असहाय परिवारलाई खाद्यान्न वितरणसँगै शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले ७ जना विद्यार्थीलाई शैक्षिक सामग्री, दीर्घरोगी दुई जनालाई निःशुल्क औषधि वितरण र दुई परिवारका ८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
यी सेवाहरू समाजसेवी अशोक अग्रवाल मार्फत उपलब्ध गराइएका हुन् । अग्रवालले आफ्ना दिवंगत आमाबुबाको स्मृतिमा उक्त सहयोग गर्नुभएको हो । असहाय, अपांग र निम्नवर्गीय परिवारलाई पु¥याइएको सहयोग अतुलनीय भएको कोशी प्रदेशकी पूर्व सांसद उमिता बराइले बताउनुभयो । मुलुकको विषम परिस्थितिमा यस्ता वर्गलाई सहयोगको अति आवश्यक रहेकोले दाताहरूद्वारा गरिएको यो कार्य प्रेरणादायी रहेको उहाँको भनाई थियो । संस्थाकी अध्यक्ष डम्बर कुमारी मास्केले अरू सक्षम व्यक्तिहरूलाई असहाय वर्गको सहयोगमा अघि आउन अपिल गर्नुभयो । उहाँले समाजमा राज्यको अनुभूति गर्न नसकेका वर्गका लागि सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन बताउनुभयो । राज्यको प्रत्यक्ष पहुँच नपाएका वर्गका लागि विभिन्न दाताहरूसँग समन्वय गर्दै निरन्तर सहयोग पु¥याउँदै आएको यो केन्द्रको कार्य अहिले सर्वत्र प्रशंसा र प्रेरणाको स्रोत बनेको
छ ।
