इटहरी । लगातारको बर्षाले जनजीवन अस्तव्यस्त, आवागमन बन्द, चौतर्फी बाढी पहिरोको कहर, उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा बाक्लो हिमपात भए पनि इटहरीमा शनिवार आयोजित एपेक राष्ट्रिय काब्य महोत्सव–२ मा सहभागी हुन मुलुकका सातै प्रदेशका कवि तथा कलाकार उत्साहका साथ देखिए ।
त्यसो त आवागमन असहजता भएपछि इलामका चर्चित कवि विमल वैधले महोत्सवमा सहभागिता जनाउन नसकेकोमा सामाजिक सञ्जालबाटै तिक्तता पोख्नु भएको थियो । उहाँले पहिरोका कारण मेची राजमार्ग पूरै ठप्प भएपछि शुक्रबार र शनिवार जति प्रयास गरे पनि इटहरी पुग्ने अवस्था नरहेको भएपछि सातै प्रदेशबाट आउनु भएका कविहरुलाई कोशी प्रदेशमा स्वागत, काव्य महोत्सव भव्य नहुने कुरामा शंकै छैन, शरीर इलाम भए पनि मन इटहरीमा भएको र सहभागी सबैमा स्वागत भन्दै विट मार्नु भएको थियो ।

नेपाल ललितकला प्रतिष्ठान र एपेक नेपालको संयुक्त आयोजनामा शनिवार इटहरीस्थित सम्पन्न सातै प्रदेशका कवि र चित्रकारहरुले सशक्त प्रस्तुति दिएका थिए । प्रत्येक पदेशबाट चर्चित दुई दुई जना कवि र दुई दुई जना चित्रकारहरुको सहभागिता रहेको महोत्वको समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएका थियो । सो अवसरमा संक्षिप्त मन्तव्य दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो कला, साहित्य र सिर्जनात्मक अभिव्यक्तिलाई राष्ट्रको पहिचानसँग जोडिएको छ । यसको विस्तार, उत्थानका लागि राज्यका तर्फबाट हर सम्भव सहयोग हुने र युवा पुस्तामा सिर्जनात्मक भावना र कला प्रतिको लगाव बढाउनु आवश्यक छ ।एपेक नेपालका अध्यक्ष विश्व वि मोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न राष्ट्रिय काव्य महोत्सव–२ को सफलताको कामना गर्दै कोशी प्रदेशका सामाजिक विकास तथा कानुन मन्त्री रेवती रमण भण्डारी, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कवि मनु मञ्जिल, एपेक नेपालकी सल्लाहकार मिना श्रेष्ठले शुभकामना दिनु भएको थियो ।
