विराटनगर । प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्दै प्रहरी सेवाप्रति गर्वका साथ समर्पित भएर काम गर्न समग्र संगठनलाई निर्देशन दिनुभएको छ । निरीक्षणका क्रममा आइजीपी खापुङलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलगायत प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । प्रहरीको एक टुकडीले औपचारिक सलामी अर्पण गरेपछि उहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो र परिसरमा अवस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा अर्चना गर्नुका साथै वृक्षारोपण कार्यक्रममा समेत सहभागी हुनुभयो । सभाहलमा आयोजित निर्देशन तथा सम्वोधन कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले देश, नागरिक र संगठनको आवश्यकतालाई महसुस गर्दै “गर्वका साथ जिम्मेवारीपूर्वक प्रहरी सेवा प्रदान गर्नुपर्छ” भन्ने सन्देश दिनुभयो । उहाँले नेपाल प्रहरीले विगतदेखि नै आरोह–अवरोह पार गर्दै संगठनको प्रतिष्ठा जोगाइरहेको बताउँदै अपराध तथा संगठनविरुद्ध हुने कुनै पनि गतिविधिलाई कानूनी दायरामा ल्याउने दृढता व्यक्त गर्नुभयो ।
आइजीपी खापुङले प्रहरीको आचरण, व्यवहार र सेवा प्रवाहलाई जनमैत्री बनाउँदै नकारात्मक सोच त्यागी आपसी सहकार्य र भाइचारा सहित संगठनको गरिमा वृद्धिमा योगदान दिनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा डीआईजी ईश्वर कार्कीले प्रहरी महानिरीक्षकको निरीक्षण भ्रमणले संगठनभित्र सकारात्मक उत्साह र मनोबल थपिएको बताउँदै उहाँप्रति आभार व्यक्त गर्नुभयो। कार्कीले संगठन प्रमुखको निर्देशनलाई सबै प्रहरीले अक्षरशः पालना गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो। कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोबिन्द अधिकारी, एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाल, एसएसपी दिपक पोखरेल, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, प्रदेश प्रहरी गण विराटनगरका प्रतिनिधि, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू सहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरीहरूको उपस्थिति रहेको थियो ।
