सातै प्रदेशमा जेनजी संयोजकहरू तोकिए : निजामती कर्मचारीमा समेत २८ वर्ष मुनिका समेटिने गरी जेनजी कर्मचारी समूह गठन हुँदै

धरान । भाद्र २३ र २४ गते भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, राजसंस्थाको पुनस्र्थापना, भ्रष्टाचारीलाई कारबाही लगायतका माग राखी जेनजीहरूले गरेको आन्दोलनले दलीय सयन्त्र र संसद् विघटन भएसँगै थप शक्तिशाली आन्दोलनका लागि देशका सातै प्रदेशमा जेनजी संयोजकहरू तोकिएका छन् ।
गठित जेनजी प्रदेश स्तरीय संयोजकहरूमा कोशी प्रदेशमा उपार्जन चाम्लिङ, मधेश प्रदेशमा शिव यादव, बागमती प्रदेशमा किरण केसी, गण्डकी प्रदेशमा प्रदीप पाण्डे, लुम्बिनी प्रदेशमा आदित्य आचार्य, कर्णाली प्रदेशमा सुप्रिया शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज साउद रहेका छन् । जेनजीले प्रदेश खारेजीको मागलाई बटम लाइन बनाए तापनि तत्कालका लागि प्रदेश स्तरीय संयोजक तोकिएको मधेश प्रदेशका संयोजक शिव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारै अञ्चल स्तरीय संयोजकमा रूपान्तरण गर्दै जिल्ला, नगरस्तरीय संयोजक तोकिने समेत उहाँले बताउनुभयो । दुई दिनको आन्दोलनमा ७४ जना युवाहरूको ज्यान गएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्थापित, संसद् विघटन र गैरदलीयबाट शुशिला कार्कीको नेतृत्वमा मन्त्री मण्डल गठन भए तापनि जेनजीहरूले २०४६ साल पश्चात हालसम्म निरन्तर सत्तामा बसेर अकूत भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग अगाडि सारेको समेत यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलन पूर्ण भएको छैन । निकट भविष्यमा थप शक्तिशाली आन्दोलनको तयारीमा जेनजीहरू रहेका छन् ।’यसैबीच निजामती कर्मचारीहरूमा समेत २८ वर्ष मुनिका समेटिने गरी जेनजी कर्मचारी समूह गठनको गृहकार्य भइरहेको संयोजक यादवले जानकारी दिनुभयो । सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ नाम दिइएको उक्त अभियानको मूल उद्देश्य जेनजी कर्मचारी समूह गठन नै रहेको उहाँले बताउनुभयो । असोज ५ गते जेनजी समूहले एक विज्ञप्ति प्रकाशित गरी सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ का उद्देश्यहरूबारे प्रष्ट पारेको छ । प्रकाशित विज्ञप्ति अनुसार उनीहरूले भनेका छन्, ‘हामी आजकै मितिदेखि नेपालको सार्वजनिक प्रशासन रूपान्तरण गर्ने अभियानमा प्रतिबद्ध छौं । यही मिति २०८२ भाद्र २३ र २४ गते नव युवा पुस्ता जेनजीको नेतृत्वमा मुलुकमा भएको आन्दोलनको मूल माग भ्रष्टाचार अन्त्य र सुशासनको पक्षप्रति पूर्ण सहमति जनाउँछौं । जेनजी आन्दोलनमा आफ्नो अमूल्य ज्यान आहुति दिने शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’ भ्रष्टाचारमुक्त र सुशासनयुक्त सार्वजनिक प्रशासन निर्माण गरी जेनजी आन्दोलनको मूल मर्म र भावनालाई कार्यान्वयन गर्न सार्वजनिक प्रशासन रूपान्तरण अभियानको तर्फबाट ६ बुँदे आह्वान समेत गरेको छ । ६ बुँदे आह्वान अन्तर्गत मुलुकमा विद्यमान भ्रष्टाचार र कुशासनको अन्त्य गरी सुशासन कायम गर्न सबै सम्बद्ध पक्षलाई आह्वान, राजनीतिक तथा प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारी पनका कारण हालको परिस्थिति उत्पन्न भएको पुष्टि भई तत्काल राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको सन्दर्भमा सोही राजनीतिक नेतृत्वको मतियारको रूपमा रहेको हालको प्रशासनिक नेतृत्वबाट रूपान्तरण सम्भव नहुने ठहर गर्दै नेपाल सरकारका मुख्य सचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र गृह मन्त्रालयका जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूको तत्काल बर्खास्तीको जोडदार माग गरिएको छ । यसैगरी निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाई सहज र सुरक्षित कार्य गर्ने वातावरण तत्काल निर्माण गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त एवं प्रभावकारी बनाउनुपर्ने, सार्वजनिक प्रशासनमा कर्मचारी सरुवा, बढुवा लगायतका वृत्ति प्रणाली र सार्वजनिक सेवा प्रवाहको विकृति विसंगतिको जडको रूपमा रहेको विद्यमान दलीय ट्रेड युनियन तत्काल खारेज गर्नुपर्ने, संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि राजनीतिक नेतृत्वको गैरजिम्मेवारी तथा प्रशासनिक नेतृत्वको स्वार्थका कारण हालसम्म जारी हुन नसकेको संघीय निजामती सेवा ऐन लगायतका सार्वजनिक सेवासम्बन्धी अन्य कानूनहरू तत्काल जारी हुनुपर्ने, सम्पूर्ण देशभक्त र रूपान्तरणप्रेमी राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक प्रशासन रूपान्तरणको यस महान अभियानमा एकबद्ध भई जेनजी आन्दोलनको मर्म बमोजिम नेपाल र नेपालीको सुनौलो भविष्य निर्माणमा गोलबद्ध हुन समेत विज्ञप्तिमा आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया