काठमाण्डौ । काठमाण्डौस्थित भारतीय राजदुतावासमा भारतको ७९ औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा रहनु भएका भारतीय समुदाय र भारतका शुभचिन्तकहरुको सहभागितामा ७९ औं स्वतन्त्रता दिवस दुतावास परिषरमा भव्यताका साथ मनाइएको हो । समारोहमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरेसँगै समारोहको शुभारम्भ भएको थियो । कार्यक्रममा भारतकी राष्ट्रपति महामहिम श्रीमति द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा दिनुभएको सन्देश प्रशारण गरिएको थियो । सन्देशमा महामहिम राष्ट्रपति मुर्मुले विगत ७८ बर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिको चर्चा गर्नुभएको थियो ।


सो समारोहमा भारतीय राजदुत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतकका श्रीमति र निकटतम् नातेदारहरुलाई सम्मान गर्र्दै नेरु ६.४ करोडको एजीआइफ (आमी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गर्नुभएको थियो । भारतीय रजदुतावासले ७९ औं स्वतन्त्रता दिवसको अवसमा नेपालका सात प्रदेशका २१ जिल्लामा रहेका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयहरुका लागि पुुस्तक अनुदानको समेत घोषणा गरेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । दुतावासको उक्त घोषणाले दुर्गम क्षेत्रका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीमा पहुँच पुग्ने विश्वास गरिएको छ । दुतावासमा आयोजित भारतको ७९ औ स्वतन्त्रता दिवसको अवसरमा नेपालमा रहनु भएका भारतका मित्रहरुका साथै दुतावासका विभिन्न विभागमा कार्यरत अधिकारीहरु, उनीहरुका परिवारहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनु भएको थियो । दुतावासद्वारा जारी विज्ञप्तीमा उक्त अवसरमा दुतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाण्डौका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरु जीवन्त साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।



