धरान । अज्ञात समूहले धरान १३ र ३० को संगमस्थलमा रहेका श्रम संस्कृति पार्कमा रहेको टिकट काउन्टरको सीसा अज्ञात समूहले तोडफोड गरेका छन् ।
विहान ५ बजे नै त्यहाँका कर्मचारीहरु पार्कमा पुग्दा काउन्टरको सीसा पूर्ण रुपमा फुटेको पाइएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई खबर गरिएको थियो । काउन्टरको अगाडि पछाडि दुई वटा सीसी क्यामेरा जडान गरिए पनि एउटा सीसी क्यामेरा विग्रिएको मौका पारेर अराजक तत्वले तोडफोड गरेको हुनसक्ने कार्यरत कर्मचारीले बताएका छन् । धरान उपमहानगरपालिकाले सञ्चालन गरेको सो पार्कमा राती १० बजेसम्म नगर प्रहरीले निगरानी राखेपछि त्यसपछि पार्क सुनसुन हुने गरेको छ । त्यही मौका छोपेर अज्ञात समूहले तोडफोड गरेको पाइएको कर्मचारीहरुकोे भनाई छ ।


पार्कभित्र रहेको एसडिएस पार्कको छेउमा रहेको टिकट काउन्टर तोडफोडको खबर पाउँदासाथ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई तोडफोड भएकै स्थानमा पुगेर अनुगमन गर्नुभएको थियो । कसले किन तोडफोड ग¥यो भन्ने कुराको कर्मचारीसँग समेत जानकारी नभएपछि सिसी क्यामेरा फुटेज चेक गर्न कर्मचारीलाई निदेशन दिँदै जो भएपनि कारबाहीको भागिदार बन्ने बताउनुभयो । यो पार्कभित्र एसडिएस पार्क, आरा धरान लगायतका धेरै संरचनाहरु निर्माण भएका छन् । पार्कको प्रचारप्रसार अत्याधिक भएकै कारण यहाँ दैनिक २ सय भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक श्रम संस्कृति पार्कको अवलोकन गर्न आउने गरेका छन । शनिवार अन्य दिनभन्दा बढी भीड हुने भएकोले ७ हजार भन्दा बढी पर्यटक आएको तथ्यांक रहेको छ । धरानको पर्यटकीय क्षेत्रभित्र अज्ञात समूहले तोडफोड गरेको पहिलो घट्ना रहेको छ । प्रहरी प्रशासनलाई जानकारी गराउँदै अज्ञात समूहले खोजी गरी कारबाही गर्ने मेयर राईले बताउनुभयो ।

