धरान । धरानमा महिलाहरुले समावेशी तीज मनाएका छन् । तीज आउनु पूर्व नै धरान मनिहारी तथा उपहार व्यपार संघले सुनसरी उद्योग वाणिज्य संघको हलमा तीन पर्व मनाएको छ । यस पर्वमा सबै जातजातिका महिलाहरुको सहभागिता रहेको थियो । तीज आउन केही समय बाँकी छ । तर धरानमा तीज पर्वको रौनकता बढ्दै गएको छ । केही संघ संस्थाले सामुहिक रुपमा तीज पर्व मनाउन शुरु गरिसकेका छन् । यसै क्रममा धरान मनिहारी तथा उपहार व्यापार संघको आयोजनामा तीज पर्व मनाइएको छ । आयोजित कार्यक्रममा जातजाति, समुदायको महिलाको उत्तिकै उपस्थिति देखिन्थ्यो । सो अवसरमा बोल्दै मनिहारी तथा उपहार व्यापार संघका अध्यक्ष राम स्वरुप शर्माले सबै जातजाति एक हो, सबै जातजातिको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने अभिप्रायले सघले तीज पर्व मनाएको बताउदै यहाँ सहभागिता महिलाहरुको उपस्थितिले पनि त्यही कुरा प्रष्टयाएको बताउनुभयो ।

संघले आयोजना गरेको तीज पर्वमा मात्र हैन अन्य संघ संस्था तथा तीज पर्वका दिन उपस्थिति भएका महिलाहरुको अनुहारले पनि तीज पर्वमा सबै जातजातिको उपस्थिति झल्किन्छ । हिन्दु सनतान धर्मालम्बीहरुको मात्र नभई पछिल्लो समय तीज पर्व समावेशी पर्वको रुपमा विकास हुदै गएको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बताउनुभयो । उहाँले यस्ता यहाँ रातो सारीमा उपस्थित सबै जातजातिका सबै महिलाहरुले तीज पर्वमा छमछमी नाचेको देख्दा गर्व लागेको बताउदै धरानभित्र रहेको साँस्कृतिक विभेदलाई एकतामा
परिणत गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली महिलाहरुको ठूलो चाँड हरितालिका तीज पर्वमा विवाहित तथा अविवाहित महिलाहरु निराधार ब्रत बस्ने प्रचलन छ । विगतमा गाउँघरमा आ आफ्नो तरिकाले मनाउने यो तीज पर्व अहिले सामुहिक रुपमा मनाउन थालिएको छ । यसले हिन्दु सनातन धर्मालम्बीमात्र समावेश हुने तीजमा अहिले सबै सबै धर्म, जातजातिको समावेश भएको पाइन्छ । हुन त धेरैले तीज आउनुपूर्व नै महिलाहरुले सामुहिक रुपमा तीज मनाउने परम्पराको विकासले विकृति ल्याएको भनिए पनि कतिपय धर्मविद्, संस्कृतिविद्हरुले भने समय अनुसार चाडपर्वमा परिस्कृत हुदै गएको भन्ने अभिव्यक्ति पनि दिँदै आएका छन् ।
