८५ बर्षिय 1st 11 Gr का सुवेदार हस्तबहादुर बेघा प्रतिष्पर्धी दौडमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयद्वारा सातौ अन्तर भूपू व्याडमिन्टन प्रतियोगिताको आयोजना

प्रतियोगिताको पेन्सन वितरण कायालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजिया र श्रीमति पुनम कनौजियाले संयुक्त रुपमा उद्घाटन गरी सुभारम्भ गर्नुभएको थियो ।
प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्ला मध्ये १२ जिल्लाका भारतीय भूतपूर्व सैनिक संघसँग आवद्ध भूपू सैनिकहरुको सहभागिता रहेको छ । आगामी श्रावण ६ गते अन्तिम प्रतिष्पर्धा (फाइनल) हुने उक्त प्रतियोगितामा उदयपुरको गाइघाट, मोरङ्गको बेलबारी, , पथरी, झापाको दमक, विर्तामोड, भद्रपुर, धनकुटा, सुनसरीको इटहरी, तरहरा, ताप्लेजुङ्ग, तेह्रथुम र धरानका १२ वटा भूपू संघका गरी पिपिओ टिमसहित ११० टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रतिष्पर्धीहरुलाई उमेर समूहमा बर्गीकरण गरिएको छ । जसमा पहिलो वर्ग समूहमा ५० बर्ष भन्दा मुनिका खेलाडीहरु रहेका छन् । जस अन्तर्गत ३८ टिम रहेका छन् । यसैगरि दोस्रो वर्गमा ५१ देखि ६० बर्ष भन्दा माथिका खेलाडी रहेका छन् जस अन्तर्गत २७ टिम रहेको छ । तेस्रो बर्षमा ६० बर्ष भन्दा माथिका खेलाडी रहेका छन् । जस अन्तर्गत ७ टिम रहेको छ । चौथो वर्गमा खुल्ला महिला डबल्सका खेलाडी समावेश छन् । जस अन्तर्गत १२ टिमले भाग लिएका छन् भने पाँचौ बर्गमा ५० बर्ष उमेर भन्दा कमका पुरुष सिंगल खेलाडी रहेका छन् । जस अन्तर्गत ९ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् ।


सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्य दिनुहुँदै पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले भन्नुभयो आज आफूलाई अत्यन्तै खुशी लागेको छ । मलाई लागेको थिएन यसपटक व्याडमिन्टन प्रतियोगिता गराउँछु भनेर । तर माता रानी भगवानले मलाई आत्मबल प्रदान गर्नुभयो । हजुरहरुसँग एक पटक फेरि उभिएर यो प्रतियोगिता शुरु गर्न पाएको छु । यस प्रतियोगितामा प्रतिष्पर्धी सबैमा शुभकामना व्यक्त गर्दछु । राम्रो पदर्शन गर्ने कुरामा म विस्वस्त छु । यसपटक विगतको तुलनामा अझ सशक्त टिमको सहभागिता रहेको छ । मलाई खुशी लागेको छ यो व्याडमिन्टन प्रतियोगितालाई नियमित बनाउन सकेका छौ । म प्रार्थना गर्दछु आगामी दिनमा शुरु गरिएको भलिबल प्रतियोगिता र व्याडमिन्टन प्रतियोगितालाई नियमित हुनेछ । उहाँले प्रतिष्पर्धामा सहभागी सबै भूपू समितिहरुलाई एकमुष्ट स्वागत समेत गर्नुभएको थियो । प्रभारी अधिकारी मेजर कनौजियाले पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिक एवम् उनीहरुका आश्रित परिवारका लागि स्वास्थ्य एवम् मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ । प्रभारी अधिकारी कनौजियाले खेलप्रेमीहरुलाई फौजमा हुँदाको जोश, जाँगर, स्फूर्ति पेन्सन पछि पनि निरन्तर कायम राख्नुपर्छ भन्ने मान्यता राख्दै आउनु भएको छ । उद्घाटन सत्रमा प्रहरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख एसएसपी शिवकुमार श्रेष्ठ, विद्यालयका प्राचार्य श्रीमति मनिका सुब्बा राई, प्रहरी विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायो, पूर्व क्षेत्रीय प्रहरी वहुउद्देश्यीय भवन अध्यक्ष राजेश श्रे्ष्ठ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
व्याडमिन्टनले खेलाडीमा आपसी सम्बन्ध विस्तार गरेको छ–प्रशासन सुपरभाइजर अनिलकुमार श्रेष्ठ

अहिले आयोजना भएको प्रतियोगिता कति औं हो ?
–यो प्रतियोगिता भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले आयोजना गरेको अन्तर भूपू व्याडमिन्टन प्रतियोगिता सातौ चरणको हो । छैठौ चरण हामीले सफलतापूर्वक सम्पन्न गरिसकेका छांै । यो प्रतियोगता समेत सफलतापूर्वक सम्पन्न हुनेछ ।
हरेक बर्ष यसरी व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्नुको प्रमुख उद्देश्य के हो ?
–यसको प्रमुख उद्देश्य भनेको खेलाडीमा नैतिक, मानवीय, शारीरिक सबै तन्दुरुस्तीका साथ साथै यसले एक आपसमा भाइचारा, आपसी सम्बन्ध, एकता, अनुशासनको अभिवृद्धि नै हो । यसबाट पूर्वाञ्चलमा बसोबास गर्ने भूपूहरु खेलकै माध्यमबाट एक आपसमा भेटघाट गर्ने अवसर प्राप्त गर्छन् । आपसी सहयोग, आपसी मित्रता, आपसी भाइचाराका लागि वा यसलाई बढावा दिन प्रत्येक बर्ष आयोजना गरेका हौं ।
शुरुवाती दिन र अहिले सहभागिताको कुरालाई लिएर तपाईले के फरक पाउनु भएको छ ?
–म आएको पनि धेरै भएको छैन । यो प्रतियोगिता ७ बर्ष अगाडि भएको थियो । यद्यपि, भन्नैपर्दा हामी त भूपूहरु हौ । हामीमा रिटायर्ड भइयो भन्ने मानसिकता हुन्छ । जब हामीले यसको शुरुवात ग¥यौ त्यसबेला केही प्राविधिक वा व्यवस्थापनको समस्या भएको थियो । पछि विस्तारै भूपूहरुले बुझ्दै गए । यो त राम्रो रहेछ भन्ने महसुस गर्नुभयो । आपसमा भेट हुने, आपसी गन्थन हुने, खेलबाट स्वास्थ्य हुने बुझ्नुभयो । अहिले हाम्रा भूपूहरु जुलाइको अन्त्यमा हुने यो खेलको लागि एक बर्ष अगाडि तयारी गर्छन् । यसले उनीहरुको स्वास्थ्य राम्रो हुन्छ । मेरो प्रतिष्पर्धीलाई जित्नुपर्छ भन्ने उहाँहरुलाई लाग्छ । यसले के सम्म भएको छ भने यतिबेला हरेक ठाउँका भारतीय भूपूहरुले समितिको व्याडमिन्टन कोर्ट बनाएर दिनरात खेल्ने अभ्यास भएको छ ।
अहिले कतिवटा जिल्लाका भूपूहरु सहभागी छन् ?
–हाल १८ वटा भूपू समितिबाट ११० वटा टिमले भाग लिएका छन् । पूर्वाञ्चलको १४ जिल्लामध्ये २ वटा जिल्लाका सहभागी छैनन् ।
हाम्रो टोटल टिम कति हो ?
–यो अन्तर भूपू समितिका १८ वटा समितिबाट ११० टिमले भाग लिएका छन् ।
टाढाटाढाबाट आउने खेलाडीका लागि बस्ने, खाने व्यवस्था के छ ?
–टाढाटाढाबाट आउनु हुनेलाई भारतीय राजदुतावासको पेन्सन वितरण कार्यालयमा डरमेट्री भन्ने ठाउँ छ । उहाँहरु त्यही बस्नुहुन्छ । त्यही खानुहुन्छ । निःशुल्क बस्ने र खाने व्यवस्था छ ।
सहभागी हुन आउने भूपू खेलाडीमा तपाईले के पाउनु भएको छ ?
–यसले भूपूहरुमा आपसी सम्बन्ध, भाइचारा विस्तार भएको छ । कहिल्यै भेट नभएका, टाढा टाढाबाट आएका विगतमा आफ्नै पल्टनका साथीहरु अहिले भेट्दा एक प्रकारको हौसला भएको पाएका छौं । भर्खरै सेनामा भर्ति भएर एक ठाउँमा बसेको जस्तो भएको छ उहाँहरुलाई । यस प्रतियोगितालाई निरन्तर गर्नुपर्छ ।
प्रतियोगता कति दिनसम्म चल्छ ?
–अगस्त ४, ५ र ६ अर्थात साउन १९, २० र २१ गतेसम्म चल्छ । २१ गते फाइनल प्रतियोगिता हुँदैछ । सबै विजेता र उपविजेता टिमलाई भारतको ७८औं स्वतन्त्रता दिवसका अवसरमा पुरस्कृत गरिनेछ ।
नियमित व्यायाम र खानपानले अहिलेसम्म खेल्न सक्षम छु–सुवेदार हस्तबहादुर बेघा

उमेरले नाटो काट्न लाग्दा समेत उही तन्नेरी जोश जाँगर र स्फूर्तिका साथ भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानद्वारा अयाोजित सातौँ अन्तर समिति भूपू व्याडमिन्टन प्रतियोगितामा भाग लिन आउनु भएका भारतीय सेनाका ज्ञकत 1st 11 Gr का सुवेदार हस्त बहादुर बेघा प्रतियोगितामा सबैका लागि आदर्शको पात्र देखिनु भएको छ ।
झापाको दमक भूपू भारतीय समितिबाट प्रतिष्पर्धामा सहभागी हुन आउनु भएका बेघा ८५ बर्षको हुनुभयो । तर उहाँमा बुढ्यौलीको कुनै संकेत देखिदैन । यस भन्दा अगाडि भएको छैठौ व्याडमिन्टन प्रतियोगितामा दोस्रो हुनुभएका बेघा यसपटक समेत कुनै न कुनै पुरस्कार जित्ने आशामा हुनुहुन्छ । यसपटक हामीले अदम्य शाहसी बेघासँग संक्षिप्त वार्ता गरेका छौं ।
कति बर्षको हुनुभयो ?
–अहिले ८५ बर्षमा हिड्दै छु ।
अहिले भएको व्याडमिन्टन प्रतियोगितामा कुन समूहबाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ?
–म दमक भूपू सैनिक संघबाट प्रतिष्पर्धामा आएको हुँ । ६० बर्ष भन्दा माथिको उमर समूहबाट प्रतिष्पर्धा गर्दैछु ।
यो भन्दा अगाडि पनि भाग लिनु भएको थियो ?
–लिएको थिएँ । गत बर्ष दोस्रो भएको थिएँ ।
यो उमेरमा खेल क्षेत्रमा निरन्तर देखिनु भएको छ । यसमा के भन्नुहुन्छ ?
–खासमा मैले खेल्नै छाडिसकेको थिएँ । मैले खेलेकैले गर्दा अहिलेसम्म स्वस्थ छु । म पहिलाको फुटबल खेलाडी पनि हुँ । पेन्सन आएपछि फुटबल खेल्न सकिएन । अनि म व्याडमिन्टनतिर लागे । म खेलाडी भएकोले त्यसै छाडिहाल्न पनि मन लागेन । दकमका व्याडमिन्टन हल पनि मेरै सक्रियतामा बनाएँ । केही साथीहरुले हैन यो उमेरमा नखेल्नुस् घुँडाको समस्या हुन्छ भने । तर मैले मानिन । म घरमा वाकिङ्ग गर्ने, साइकिलिङ्ग गर्ने, खेतबारीमा काम गर्ने गरिरहन्छु । शायद यही नियमित अभ्यासले गर्दा अहिलेसम्म खेल्न सकेको हुँ ।
अब कहिलेसम्म खेल्न सक्छु जस्तो लाग्छ ?
–त्यो त कसरी भन्ने ? जहिलेसम्म शरीरले साथ दिन्छ त्यहीलेसम्म खेल्छु । संगैका साथीहरु थलिसकेका छन् । दमकमा मेरो उमेरका खेल क्षेत्रमा कोही पनि देखिदैनन् । प्रतिष्पर्धा वा व्याडमिन्टन खेल्दा पनि युवाहरुसँग संगत गर्नुपर्छ । जसले गर्दा मलाई आफू बुढो भएको अनुभूति छैन ।

तपाईको प्रतिक्रिया