विराटनगर । पुस्तान्तरणसँगै बाह्य सँस्कृतिको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपाली कला, साहित्य, सँस्कृति जगेर्ना गर्ने उद्देश्यले मोरङका लेखक, साहित्यकार, कवि, समालोचकहरुको एक बृहत भेलाले कोशी साहित्य प्रतिष्ठान नेपालको गठन गरेका छन् । साउन ४ गते आइतबार मोरङको बेलबारी बहुमुखी क्याम्पसमा ठूलो संख्यामा भेला भएका उनीहरुले लेखक तथा अनुसन्धानकर्ता केसु विरहीका अध्यक्षतामा १३ सदस्यीय तदर्थ कार्यसमिति सर्वसम्मत ढंगबाट गठन गरेका हुन् । नव गठित कोशी साहित्य कला प्रतिष्ठान नेपालको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोख्रेल ‘नवशिला’, सह सचिवमा गीता कुलुङ राई र कोषाध्यषमा चिरञ्जीवि काफ्ले रहनु भएको छ । यसैगरि सदस्यहरुमा लक्ष्मी प्रसाई फुँयाल, प्रमोद ढकाल (प्रिन्स), सिजन श्रेष्ठ, मनोज विश्वकर्मा, नविन थापा क्षेत्री रहनु भएको छ भने अन्य तीन जना सदस्य पछि थप गर्ने निर्णय समेत भएको अध्यक्ष
विरहीले धरान साप्ताहिकलाई जानकारी दिनुभयो । उक्त वृहत भेलामा श्रस्टाहरु रमेश चन्द अधिकारी, यादव प्रसाद भट्टराई, गीताप्रसाद श्रष्ठ, शान्त भट्टराई, दुर्गा न्यौपाने, एकराज भट्टराई, हर्कमान तामाङ्ग, भाषाविद् हर्कमान तामाङ्ग, सकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, राम विक्रम थापा, विराट साहित्य समाजका कावा अध्यक्ष पुरन याख्खा, बेलबारी प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली र सुन्दर हरैचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेको उपस्थिति रहेको थियो ।

कोशी साहित्य कला प्रतिष्ठान नेपाल गठन गनुर््का प्रमुख उद्देश्य के हो त भन्ने जिज्ञासामा अध्यक्ष विरहीले भन्नुभयो पछिल्लो दिन साहित्यको उत्थानमा भन्दा पनि साहित्यिक संस्था खोलेर अर्थोपार्जनको माध्यम बनाइन थालेको छ । एउटा व्यक्ति एउटै प्रकृतिका संघ सस्थामा बस्न, राजनैतिक गतिविधि गर्ने प्रवृत्ति बढेको छ । यस्ता प्रवृत्तिलाइ निरुत्साहित गर्न पनि प्रतिष्ठानको आवश्यकता धेरै अगाडिदेखि खड्किएको थिया । आज आएर पूरा भएको छ, विरहीको प्रस्टोक्ति थियो ।
