नयाँदिल्ली (एजेन्सी) । भारतीय विदेश सचिव विक्रम मिश्रीले आषाढ ३ गते अर्थात जुन १७ तारेखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताबारे जानकारी गराउनु भएको छ । विदेश सचिव मिश्रीद्वारा गराइएको जानकारीमा भनिएको छ प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच क्यानाडामा भएको् जि–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रपति ट्रम्प चाँडै नै अमेरिका फर्किनु परेका कारणले साइड लाइन भेटवार्ता हुन सकेन । त्यसपछि राष्ट्रपति ट्रम्पको अनुरोधमा दुवै नेताहरुले मंगलबार टेलिफोनमा कुराकानी गर्नुभयो । दुवै राष्ट्र प्रमुख बीचको कुराकानी ३५ मिनेट सम्म भएको थियो । दुवै बीचको टेलिफोन वार्तामा अप्रिल २२ तारेखका दिन जम्बु कस्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोन गरेर समवेदना व्यक्त गर्नुभएको थियो । साथै उहाँले आतंकवाद विरुद्धको लडाईमा आफ्नो समर्थन रहेको धारणा व्यक्त गर्नुभएको थियो । त्यसपछि दुई राष्ट्र प्रमुखबीच भएको यो नै पहिलो कुराकानी थियो । टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग अपरेशन सिन्दुरका बारेमा विस्तृत रुपले कुरा गर्नुभएको थियो । प्रधानमन्त्री मादीले राष्ट्रपति ट्रम्पलाई अप्रिल २२ पछि भारतले आतंकवाद विरुद्ध कारबाही गर्ने आफ्नो दृढ सकल्पलाई पूरै विश्वलाई जानकारी दिएको भनेर स्पष्ट शब्दमा बताउनु भएको थियो । प्रधानमन्त्री मोदीले मे ६ र ७ को राति भारतले पाकिस्तान र पाकिस्तान अधिनष्थ कस्मिरमा रहेका आतंकवादी शिविर र उनीहरु लुक्ने ठाउँहरुलाई मात्र निशाना बनाएको बताउनु भएको थियो । भारतको प्रतिक्रिया सन्तुलित, सटिक गैह्र उत्तेजक थियो । भारतले पाकिस्तानबाट हुने कुनै पनि आक्रमणको कडा प्रतिक्रिया दिने भनेर समेत प्रष्ट पार्नुभएको थियो । उपराष्ट्रपति भान्सले मे ९ को राति प्रधानमन्त्री मोदीलाई फोन गर्नुभएको थियो । उपराष्ट्रपति भान्सले पाकिस्तानले भारतमाथि ठूलो आक्रमण गर्न सक्ने जानकारी गराउनु भएको थियो । त्यस्तो कारबाही भएको खण्डमा भारतले त्यसको थप कडा जवाफ दिने कुरा प्रधानमन्त्री मोदीले उहाँलाई स्पष्ट जवाफ दिनु भएको थियो ।

मे ९–१० को रातमा भारतले पाकिस्तानी सेनालाई उल्लेख्य क्षति पु¥याइ पाकिस्तानको आक्रमणको कडा र निर्णायक जवाफ दियो । उनीहरुका सैन्य हवाई अड्डाहरु निस्कृय पारिए । भारतको कडा कारबाहीका कारण पाकिस्तानले सैन्य कारबाही रोक्न अनुरोध गर्न बाध्य बनायो । टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यी सम्पूर्ण घट्ना क्रमको कुनै पनि विन्दुमा भारत–अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तान बीच अमेरिकाले मध्यस्थता गर्ने कुनै प्रस्तावबारे कुनै पनि स्तरमा छलफल नभएको स्पष्ट रुपमा बताउनु भएको थियो । सैन्य कारबाही रोक्ने छलफल भारत र पाकिस्तानका दुई शसस्त्र बलहरु बीचको विद्यमान सञ्चार माध्यमहरुबाट प्रत्यक्ष रुपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा शुरु गरिएको थियो । प्रधानमन्त्री मोदीले भारतले मध्यस्थता नस्विकार्ने र कहिल्यै पनि स्वीकार नगर्ने भन्दै दृढतापूर्वक बताउनु भएको थियो । यस विषयमा भारतमा पूर्ण राजनीतिक सहमति छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएका बुँदाहरुलाई ध्यानपूर्वक सुन्नु भएको थियो र आतंकवाद विरुद्ध भारतको लडाइमा आफ्नो समर्थन व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले भारतले अब आतंकवादलाई परोक्ष युद्धको रुपमा नभई युद्धको रुपमा नै हेर्ने र भारतको अपरेशन सिन्दुर अझै जारी रहेको कुरा पनि बताउनु भएको थियो । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई क्यानाडाबाट फर्कने क्रममा अमेरिका आउन सक्नु हुन्छ कि भनेर सोध्नु भएको थियो । प्रत्युत्तरमा पहिले गरिएका प्रतिबद्धताका कारण प्रधानमन्त्री मोदीले त्यसो गर्न असमर्थ भएको कुरा व्यक्त गर्नुभयो । दुवै राष्ट्र प्रमुखहरुले निकट भविष्यमा भेट्ने कुरामा सहमति जनाउनु भएको थियो । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले इजरायल र इरानबीच चलिरहेको द्वन्द्वकोबारे समेत छलफल गर्नुभएको थियो । दुवै नेताहरुले रुस–युक्रेन द्वन्द्वमा शान्तिका लागि दुई पक्षबीच प्रत्यक्ष वार्ता आवश्यक रहेको र यसलाई सहज बनाउन निरन्तर प्रयास गरिरहनु पर्ने कुरामा सहमति जनाउनु भएको थियो । दुवै राष्ट्र प्रमुखहरुले हिन्द प्रशान्त क्षेत्रका सम्बन्धमा आ–आफ्नो दृष्टिकोण साझा गर्नुका साथै यस क्षेत्रका क्वाड (QUAD) को महत्वपूर्ण भूमिकाप्रति आफ्नो समर्थन व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अर्को क्वाड शिखर सम्मेलनका लागि भारत भ्रमणको निम्ता दिनु भएको थियो । राष्ट्रपति ट्रम्पले उक्त निमन्त्रणा स्वीकार गर्दै आफू भारत भ्रमणका लागि उत्सुक रहेको बताउनु भएको थियो ।
