धरान । बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवावरण मन्त्री पद्मा अर्याल, तत्कालीन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल, तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन सँस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराइले पदीय आचरण विपरीत करोडौ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अनेरास्ववियु एकीकृत समाजवादीका संयोजक दिपक बुढाथोकीले उनीहरु विरुद्ध गत हप्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यथाशिघ्र छानविन गरी कारबाही गरिपाउँ भन्दै उजुरी गर्नुभएको हो ।

अख्तियारमा गरिएको उजुरीमा भनिएको छ, झापा जिल्लास्थित गिरिबन्धु टि–स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा गरी ३ सय विगाह भन्दा बढी जग्गा रहेको र उक्त गिरिबन्धु टि स्टेट सञ्चालन गर्न नसक्दा हदबन्दी बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा रहेको सरकारले अरबौको सम्पत्ति लिने खाने नियतले गिरीबन्धु टि स्टेटको अरबोैको मूल्य पर्ने जग्गा सट्टापट्टा पाउने गरी ऐन संसोधन गरी नीतिगत भ्रष्टाचार भए गरेको हुँदा तत्कालीन प्रधानमन्त्री, पदमा अर्याल लगायत भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई भ्रष्टाचारमा कारबाही गरी पाउँ । यसैगरि उजुरीमा भनिएको छ कोरोना महामारीको समयमा ओम्नी गु्रपसँग मिलेमतो गरी स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा तत्कालीन कोभिड १९ क्राइसिस म्यानेजमेन्ट (सिसिएमसी) को संयोजक तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले करोडौ रुपैयाको भ्रष्टाचार गरेको हुँदा निजहरु समेत भ्रष्टाचारमा संलग्न अन्य व्यक्तिहरुलाई आवश्यक छानविन गरी भ्रष्टाचारमा कारबाही गरि पाउँ । उजुरीमा पर्यटन बर्ष नेपाल २०२० मा विदेशीहरुलाई व्यापक रुपमा भिœयाउने उद्देश्यले प्रचारप्रसारको लागि भनि राज्यकोषको करोडौ रकम तत्कालीन सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई लगायत भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र छानविन गरी कारबाहीको माग गरिएको छ ।
