धरान । नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ लोमान्थाङ गाउँपालिकास्थित दिव्यदिप माध्यामिक विद्यालयको छात्रावास भवन र चमेना गृह भवनको जेठ २५ गते आइतबार शिलान्यास गरिएको छ । भारतीय राजदुतावासद्वारा आइतबार जारी विज्ञप्तीका अनुसार उक्त विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह भवन निर्माणको भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले एक भव्य समारोहबीच शिलान्यास गर्नुभएको हो ।




नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोग ३ करोड ७६ लाखको लागतमा भवन निर्माण हुने भएको हो । नेपाल भारत विकास सहयोग अन्तर्गत निर्माण हुने उक्त भवन आधुनिक सुविधा सम्पन्न शौचालय, बाथरुम, भोज कक्ष सहितको भान्छा गृह, विश्राम कक्ष र अन्य भौतिक सुविधाहरु रहन्े दुतावसद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उक्त परियोजनालाई समेत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडीपी) को रुपमा अघि बढाइएको हो भने उक्त भवनको कार्यान्वयन लोमान्थाङ गाउँपालिकाले गर्ने भएको छ । दिव्यदिप माध्यामिक विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र माध्यामिक विद्यालय हो । यसले लो–धेकर दामोदर कुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । विद्यालय विकट स्थानमा भए पनि अनुभवि, दक्ष र प्रेरणादायी शिक्षक शिक्षिकारुबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, सँस्कृति र समाज कल्याण लगायतका विभिन्न क्षेत्रहरुमा गरी ५७३ वटा एचआइसिडीपीका कार्यहरु सम्पन्न गरेको छ । यस्ता परियोजनाहरु नेपालका सातै प्रदेशमा रहेका छन् । मुस्ताङ जिल्लामा मात्र १६ वटा यस्ता परियोजनाहरु रहेका छन् । यसका अलावा भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरिसकेको छ । जसमध्ये मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस प्रदान गरिएको छ । उपहार स्वरुप प्रदान गरिएका ती सवारी साधनहरुले त्यस क्षेत्रका बासिन्दाहरुलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन मद्धत पुगेको दुतावासले जारी गरेको विज्ञप्तीमार्फत विश्वास व्यक्त गरेको छ । सो अवसरमा आफ्नो संक्षिप्त धारणा राख्नु हुँदै नेपालस्तिथत भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भन्नुभयो बर्षौदेखि रहिआएको भारत–नेपाल विकास साझेदारीको बृद्धि विस्तार विविधिकरणले आफूलाई खुशी लागेको छ । नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही यस्ता साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्न भारत सरकार सदैव तत्पर रहको छ । यसैगरि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, स्थानीय राजनैैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले विद्यालयमा छात्रवास र चमेना गृह भवन निर्माण हुन लागेकोप्रति खुशी व्यक्त गर्दै प्राथमिकताका आधारमा भारत सरकारले निर्माण गर्ने भवनबाट विद्यार्थीहरुले लाभ लिने विश्वास व्यक्त गर्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने मुस्ताङ जिल्लामा भ्रमण गर्न पाएकोमा नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले खुशी व्यक्त गर्नुभयो । उहाँले मुस्ताङको लोमान्थाङस्थित लोपो निफुग–नामड्रोल नोर्बुलिङ्ग, मोनास्टिक स्कुलको समेत अवलोकन गर्नुभएको थियो । उक्त मोनास्टिक स्कुलको छात्रावास भवन हालैमात्र भारत सरकारको ४ कराड १४ लाखको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । उक्त भवन समेत उच्च सामुदायिक परियोजना अन्तर्गत नै भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
