कोशी प्रदेश पर्यटन बर्ष २०८२ : स्विस सरकारको आर्थिक सहयोगमा फाल्गुनन्द चियाबारी, मुन्धुम, लालीगुरा“स पदमार्गको निर्माण तिब्र

धरान । स्वीस सरकारको आर्थिक सहयोग (एसडिसी) मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाल फाल्गुनन्द, चियाबारी, मुन्धुम, लालीगुराँस पदमार्गको निर्माण तिब्र रुपमा भइरहेको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय परियोजना व्यवस्थापन तथा समन्वय इकाई अन्तर्गत पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले इलाम र पाँचथरमा फाल्गुनन्द पदमार्ग, सुनसरी, उदयपुर, भोजपुर, खोटाङमा मुन्धुम पदमार्ग, तुम्लिङ्गटारदेखि खाँदबारीको नुम, गुफापोखरी, तीनजुरे मिल्के लालीगुराँस पदमार्ग र इलामको सूर्याेदय नगरपालिकाको कन्याम–अन्तुपोखरी–अन्तुडाँडासम्म चियाबारी पदमार्ग निर्माण कार्य भइरहेको हो । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन बर्षको रुपमा घोषणा गरेसँगै पदमार्गको कार्यले समेत थप तिब्रता पाएको छ । पदमार्गमा आधारित नागरिक पर्यटन विकास परियोजना फाल्गुनन्द पदमार्गको संयोजक अञ्जु श्रेष्ठका अनुसार फाल्गुनन्द पदमार्ग इलाम र पाँचथरमा निर्माण भइरहेको छ । पाँचथरको फिदिम स्थित कार्यालय स्थापना गरी पाँचथर र इलामा हाल निर्माणको कार्य गरिरहेको उहाँले जानकारी दिनभयो । संयोजक श्रेष्ठका अनुसार फाल्गुनन्द पदमार्ग (Falgunanda trails फिदिममबाट छिन्तापु, सन्दकपुर, माइपोखरी, इलामसम्म विस्तार हुन्छ । फिदिमबाट लुब्रेकुरी –सिलौटी–पौवा भन्ज्याङ लोहकिल–विखे भन्ज्याङ–छिन्तापु–गुरुवाले सन्दकपुरको माइपोखरीसम्म ५६ किमी रहने छ । उहाँले भन्नुभयो यो नयाँ परियोजना हो । यो आथिक बर्षमा साढे २ किमी मात्र पदमार्गको काम हुन्छ । फिदिम सन्दकपुर ४१.८ किमी र माइपोखरी सन्दकपुर १४ किमीको हुनेछ ।


भारतीय सीमा नाका निकट भएर बनाइएकोले पदमार्गमा पर्यटकहरुको रुचि ज्यादै देखिएको सन्दकपुर गाउँपालिकाका इन्जिनियर राजकुमार यादवको कथन छ । पदमार्ग निर्माण भएसँगै आन्तरिक एवम् वाह्य पर्यटकहरुको चहलपहल बढेको पनि उहाँले सुनाउनुभयो । पदमार्गले दुवै देश नेपाल र भारतका प्राकृतिक सुन्दरताको एक साथ अबलोकन गर्न पाउने भएपछि पर्यटकहरुको संख्यामा बृद्धि भएको सन्दकपुरका स्थानीयको बुझाई छ । फिदिम स्थित परियोजना कार्यालयकी संयोजक श्रेष्ठ भन्नुहुन्छ पदमार्ग अधिकांश स्थानमा नेपाल–भारत सीमा भएर जाने भएकोले पनि पदमार्गप्रति आकर्षण बढेको हुनुपर्छ । उहाँले भन्नुभयो चारवटै पदमार्गको छुट्टाछुट्टै कार्यान्वयन कार्यालयहरु रहेका छन् । फाल्गुनन्द पदमार्गको काम
पाँचथरले अगाडि बढाएको हो । जस अन्तर्गत फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र इलामको सन्दकपुर गाउँपालिका रहेका छन् । परियोजना आगामी चार बर्षसम्म सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो । पदमार्गमा आधारित पर्यटन विकास परियोजनाका पर्यटन संयोजक प्रनिल उपाध्यायका अनुसार इलाममै चियाबारी पदमार्गको काम भइरहेको छ । कन्याम चिया बगानबाट शुरु भएको पदमार्ग फिक्कल अन्तुपोखरी भएर अन्तुडाँडामा गएर टुंगिन्छ । संयोजक उपाध्यायका अनुसार इन्जिनियर, ओभरसियरले एलाइनमेन्ट गर्दै हुनुहुन्छ । सर्भे गरेर रुट क्लियर गर्ने काम धमाधम भइरहेको छ । पदमार्ग निर्माणको काममा अलिकति कठिनाई पनि छ । केही ठाउँमा बाटो छैन त्यस्ता ठाउँमा नयाँ निर्माण गर्नुपर्छ । पदमार्गको निर्माणले २ लाख ४२ हजार नागरिक कुनै न कुनै प्रकारले लाभान्वित हुने समेत आयोजना संयोजक उपाध्यायको कथन छ । जहाँ २ लाख ११ हजार भेदभावमा बाँचेका छन् र ३८ हजार ७ सयको वडामा बसोबास छ उनीहरुलाई पदमार्ग करिडोरले राहत प्रदान गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया