राज्य नागरिक आतंकमा उत्रियो : झुठ र भ्रमको खेति

नागरिकहरुको शान्तिपूर्ण आन्दोलनमा राज्य शक्तिको दुरुपयोग गरी नागरिकको निर्मम हत्या, अंगभंग, धरपकड गर्न वर्तमान लुटतत्रको पर्यायवाची सरकार नांगो रुपमा उत्रिएको छ ।
कथित गणतन्त्रको आवरणमा नागरिकको मुख बन्द गर्न, आवाज विहीन बनाउन, आफ्नो वर्चस्व क्रुर ढंगले स्थापित गराउने कुचेष्टाको आज सर्वत्र विरोध भएको छ । नेपाली नागरिकहरुले विगत ३५ बर्षदेखि केवल सुधारको अपेक्षा गरेर धैर्यता गरेका थिए । तर सुधार हुनुको सट्टा मुलुकको परिस्थिति थप भयावह बन्दै गयो, राज्यले आफ्ना नागरिकको लागि रोजगारको सामान्य आधारभूत चाहना समेत पूरा गर्न नसक्ने, रोजगारीका अवसर सिर्जना गर्न नसक्ने, विगतमा स्थापना गरिएका उद्योग कलकारखाना डरलाग्यो कमिशनको प्रलोभनमा विक्री गने, सामान्य तथा राज्यले उपलब्ध गराउनुपर्ने शिक्षा, स्वास्थ्य, लगायतका सवालमा नीजि क्षेत्रलाई सुम्पेर कमिशन खाने लगायतका गैह्र जिम्मेवार कार्यहरुमा निर्लिप्त भएपछि नागरिक विकल्प खोज्दै सडकमा उत्रिएको तीतो यथार्थलाई ढाकछोप गर्न हिंसाको सहारा लिनु दुर्भाग्य हो । आज मुलुक हरेक क्षेत्रमा राजनैतिक दलका विरुद्ध चोर देश छोड, मुर्दावादको गगनभेदी नारा लाग्नु, पुत्ला दहन गर्नुले सहनशीलताको सीमा पारे गरेपछि मात्र भएको हो । लोकतन्त्र, गणतन्त्रको विकल्प छैन भनेर बन्द कोठाभित्रबाट चिच्याएर, सुरक्षा घेराभित्रबाट चिच्याएर आफ्नो पाल्तु झोलेहरुको माझबाट चिच्चाएर परिस्थिति परिवर्तन आउने सपना देखेको भए त्यो दिवास्वप्न मात्र हुन्छ । नागरिकले वर्तमान व्यवस्थाको विकल्प खोजेको कुरालाई आत्मसात गनुपर्छ । कसैको उक्साहटमा, कसैको प्रलोभन दिएर, कसैले जबरजस्ती घचेटेर, ठेलेर, नागरिक सडकमा आएका होइनन् । यो कुराको समयमै हेक्का राख्नु बुद्धिमता ठहरिन्छ । रहयो लोकतन्त्र, गणतन्त्रको विकल्प छैन भनेर सत्ताको रसास्वादन गरेर बसेकाहरुले बुझ्नुपर्छ हरेक कुराको विकल्प हुन्छ । विकल्प रहित न नेतृत्व हुन्छ न व्यवस्था हुन्छ । आज मुलुकका हरेक सहर, गाउँबाट नागरिक स्वस्फूत रुपमा व्यवस्थाको विरुद्ध सडकमा उत्रिएका छन् । राजधानी काठमाण्डौ अशान्त छ । राज्यका सुरक्षा निकायको भूमिका अपराधीहरुको निर्देशनमा सञ्चालित भएको छ । अन्यथा चैत्र १५ गते नागरिकको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा निकायले बर्बराता पूर्वक सयौ राउण्ड गोली बर्साउने थिएन, सयौ राउण्ड म्याद गुज्रिएका अश्रुग्याँस प्रहार गर्ने थिएन, सडकमा गन्तव्यतर्फ हिडेका विद्यार्थी घाइते हुने थिएन, निर्दोषहरुलाई धरपक्कड गर्ने थिएन । अर्काका घरलाई क्याम्पसको रुपमा खडा गरेर जुन अपराध राज्यले सुरक्षा निकायलाई गर्न आदेश दियो त्यसको प्रतिफल आगामी दिनमा सोही बमोजिमको हुने निश्चित छ । कुकर्मको फल कहिल्यै पनि मिठो हुँदैन । अझै पनि समय छ वर्तमान व्यवस्थाका सारथीहरुले समयमै सच्चिएको राम्रो । झु्ठ र भ्रमको खेति गरेर सत्ताभोग लम्ब्याउने दुचेष्टा जति पर सर्दै जान्छ त्यति नै त्यो पीडादायी हुन्छ । नागरिकको आवाजलाई दबाउने कुचेष्टा गर्दा संसारबाट धेरैको पीडादायी पतन भएको यथार्थ मनन गर्नु वान्छनिय हुन्छ । तीनकुने घटनालाई राज्यबाट आततायी ढंगले दबाउने प्रयास हुँदा त्यसले आज सिंगो मुलुक सल्किएको छ । नागरिकको आवाजलाई केही दिन दबाउन सकिएला तर त्यो एकदिन विस्फोट भएरै छाड्छ । भीरबाट लडेको गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्ने अवस्था रहँदैन ।

तपाईको प्रतिक्रिया