धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–बर्थिङ सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त बर्थिङ सेन्टर भवनको पूर्व संविधानसभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ र भारतीय राजदुतवासकी काउन्सिलर सुश्री गिताञ्जली ब्राण्डरले शुक्रबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २ करोड ५१ लाखको लागतमा उक्त वर्थिङ सेन्टरको निर्माण हुने भएको हो । शिलान्यास कार्यक्रममा धादिङ जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न सघ संस्थामा आवद्ध सामाजिक अभियन्ताहरु र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।


नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्माण हुने उक्त बर्थिङ्ग सेन्टरमा पाले घर, प्रांगण पर्खाल, चमेना गृह, बाटो र अन्य आवश्यकीय सम्पूर्ण सुविधाहरु रहने जनाइएको छ । भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार संविधानसभाका पूर्व सदस्य, गाउँपालिकाका अध्यक्ष एवम् अन्य स्थानीय सरकोकारवालाले बर्थिङ सेन्टर निर्माणप्रति भारतीय सरकारको सहयोगका प्रशंसा गरेका थिए । उनीहरुले धादिङ्गको खनियाबास गाउँपालिकामा बर्थिङ्ग सेन्टरको निर्माणले धादिङ्ग लगायत छिमेकी अन्य जिल्लाका बासिन्दाहरुले समेत लाभ लिने जनाएका थिए । यसैगरि दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शनिवार उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकरको नेरु २.५३६ करोडको लागतमा निर्मित नौगाड गाउँपालिका स्थित इयरकोट स्वास्थ्य चौकी भवनको गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी, भारतीय राजदुताबासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । नेपाल–भारत विकास सहयोग अन्तर्गतको भारत सरकारको अनुदानमा स्वास्थ्य चौकी भवनसँगै अन्य आवश्यकीय सुविधाहरु समेत निर्माण गरिएको छ । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रुपमा लिइएको र परियोजना दार्चुलाको नौगाड गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो । उक्त स्वास्थ्य चौकी भवनले नेपालको सुदुर पश्चिम क्षेत्रका १५ हजार भन्दा बढी मानिसहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । यहाँ स्मरणीय कुरा के छ भने भारत सरकारले सन् २००३ यता नेपाल सरकारका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४९० वटा यस्ता परियोजनाहरु सम्पन्न भइसकेका छन् । यसमध्ये बागमति प्रदेशमा १०८ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बसहरु प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरुलाई १५ वटा एम्बुलेन्स, ३ वटा स्कुल बस प्रदान गरेको छ ।

