धरान । धरान उपमहानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्तीलाई व्यबस्थित बनाएर करको दायरामा ल्याउनका लागि धरान १६ सीमाना बस्तीका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरेको छ । घर नम्बर वितरणसँगै स्थानीय सरकारबाट पाउने सेवा सुविधा समेत पाउने अपेक्षा त्यस वस्तीका सर्वसाधारणले गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि विगतदेखि नै वितरण गरिदै आएको घर नम्बर १६ नं. वडा समितिले सिमाना वस्तीका सुकुम्बासी बस्तीका ३० घरलाई घर नम्बर वितरण गरेको हो ।


सुकुम्बासीलाई धरान नगरबासीकै सरह सेवा सुविधा दिलाउन र समृद्ध सहरको विकास गर्दै सुकुम्बासीको आत्म सम्मान बढाउनका साथै राज्यबाट पाउनुपर्ने विजुली बत्तीको सहज रुपमा सेवा प्रदान गर्न कै लागि पनि वस्तीमै पुगेर घर नम्बर वितरण गरिएको १६ न.. वडा समितिका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले ०४६ सालदेखि बस्दै आएका यी वस्तीहरु राज्यबाट पाउनुपर्ने पानी, बत्ती लगायतका सेवाबाट बञ्चित रहेको अवस्थामा घर नम्बर पाइसकेपछि अब राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित नहुने बताउनुभयो ।
यो वस्तीमा अधिकांश दलित समुदायको बसोबास रहेको छ । एक त सुकुम्बासी अर्कोतर्फ दलित भए पनि बर्षौदेखि राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित भइरहेका बेला दलित जनप्रतिनिधिहरुले समेत आफ्नो समुदाय तथा यस वस्तीका सर्वसाधारणले राहत पाएको महसुस गरेका छन् । १६ न.ं वडा समितिकी सदस्य मिरा विकले धेरै बर्षदेखि राज्यको सेवासुविधाबाट बञ्चित भएर सास्तीका साथ जीवन विताइरहेका यस वस्तीका सर्वसाधारणले घर नम्बर वितरण गरेसँगै राहत महसुस गरेको बताउनुभयो । घर नम्बर पाएसँगै सीमा टोलका सर्वसाधारणले खुशी व्यक्त गरेका थिए । सर्दु खोला किनारामा बस्ती भएकोले बाढीको समयमा त्रासमा बाच्नुपर्ने अवस्था भएकोले यसको दीर्घकालीन समस्या समाधनमा पनि स्थानीय सरकारले पहल गरिदिए अझ राम्रो हुने स्थानीय बासिन्दाले बताएका छन । धरान क्षेत्रमा १३ हजार घर धुरीमा करिव ६० हजार भन्दा बढी संख्यामा सुकुम्बासी परिवार रहेको जनाइएको छ । स्थानीय सरकार धरान उपमहानगरपालिकाले यस्ता वस्तीलाई व्यवस्थित बनाउदै जाने कामलाई निरन्तता दिँदै आएको छ ।
