धरान । नेपालमा गएको २०७२ सालको महाविनाशकारी भूकम्प पछि भारत सरकारले भुकम्पपछिको पुर्निनर्माणमा जनाएको सहायता प्रतिबद्धता अनुरुप भएका पुननिर्माण परियोजनाहरुको माघ १४ गते सोमबार भारत–नेपाल पाँचौ परियोजनाको अनुगमन समितिले पुननिर्माण परियोजनाहरुको प्रगतिको समीक्षा गरेको छ । त्यसबेला भारतले नेपालमा भुकम्पपछिको पुननिर्माणका लागि २५० मिलियन अमेरिकी डलर अनुदान सहायताको प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता अनुरुपको अनुदान सहायता विभिन्न चार क्षेत्रमा पुननिर्माणका लागि छुट्याइएको थियो । जस अनुसार आवास पुननिर्माणका लागि १ सय मिलियन, शिक्षाका लागि ५० मिलियन, स्वास्थ्यका लागि ५० मिलियन र साँस्कृतिक सम्पदाका लागि ५० मिलियन रहेको थियो । यी परियोजनाहरुको (पुननिर्माण) प्रगति अनुगमन गर्न सन् २०१७ मै जेपिएमसी (संयुक्त परियोजना अनुगमन समिति) संयन्त्र गठन गरिएको थियो । प्रगति समीक्षामा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थका) मुनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व नेपाल सरकार सहरी विकास मन्त्रालयका सह सचिव पदमकुमार मैनालीले गर्नुभएको थियो । समीक्षा बैठकमा भारत र नेपाल सरकारका प्रतिनिधि, परमर्शदाता र परियोजनाहरुको कार्यान्वयमा संलग्न अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रगति समीक्षा बैठक नेपालमा आवास, शिक्षा, स्वास्थ्य र साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोगमा अघि बढाइएको भुकम्पपछिको पुननिर्माण परियोजनाहरुको प्रगति
विवरणहरुको गहन समीक्षा गरेको थियो । बैठकले सन २०२१ मा आवासक्षेत्र र सन् २०२४ मा शिक्षा क्षेत्र अन्तर्गत सहमति भएका परियाजनाहरु सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा समेत गरेको थियो । स्वास्थ्य र साँस्कृतिक सम्पदा क्षेत्रमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्दै ती क्षेत्रहरु अन्तर्गतका परियोजनाहरु चाँडो भन्दा चाँडो सम्पन्न गर्ने कुरामा सहमत भएका थिए । सन् २०२३ अक्टोबरमा सम्पन्न पछिल्लो जेपिएमसी बैठक यता भारत सरकारले शिक्षाको क्षेत्रमा काठमाण्डौस्थित त्रिभुवन विश्व विद्यालय केन्द्रीय पुस्तकालय सहित २६ वटा भन्दा बढी परियोजना, स्वास्थ्य क्षेत्रमा ३२ वटा परियोजना र साँस्कृतिक सम्पदा क्षेत्रमा ३ वटा परियोजनाहरु नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यी परियोजनाहरुको लागत नेरु ३३५.०८ करोड रहेको थियो । यसका साथै यही अवधिमा नेरु १७३.४९ करोड बराबरको स्वास्थ्य क्षेत्रमा ४३ वटा परियोजना र साँस्कृतिक सम्पदा क्षेत्रमा ९ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । समीक्षा बैठकमा दुवै पक्षले पुननिर्माण परियोजनाले ल्याएको सकारात्मक सामाजिक–आर्थिक प्रभाव खास गरेर रोजगारी सिर्जना र दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षा सुविधामा भएको विस्तारको सह्राहना गरेका थिए । प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएका भारतीय विदेश मन्त्रालयका (नर्थ) का अतिरिक्त सचिव मुनु महावरले ललितपुर महानगरपालिका वडा नं. ८ को गुइँटोलस्थित साँस्कृतिक सम्पदा स्थल गुस्टल महावीर पुननिर्माण परियोजनाको पनि भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले परियोजनाको प्रगतिको समीक्षा गर्दै निर्माणमा संलग्न उपभोक्ता समितिका सदस्यहरुसँग समेत छोटो अन्तरक्रिया गर्नुभएको थियो ।
