इलाम । साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र इलमेलीको साहित्यसलाई देशका कुनाकाप्चासँगै विदेशमा समेत चिनाउने अभिप्रायले आगामी चैत्र १ र २ गते इलाम चौथो साहित्यिक महोत्सवको आयोजना हुने भएको छ । इलाम चौथो साहित्यिक महोत्सवको सम्बन्धमा जानकारी दिने उद्देश्यले विहीबार एक पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक महोत्सवको आयोजना गर्न लागिएको इलाम साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ्गले जानकारी दिनुभएको थियो । आयोजकले चौथो साहित्यिक महोत्सवको छुट्टै र आकर्षक लोगो समेत सार्वजनिक गरेका थिए ।

वि.सं. २०७६ सालमा पहिलो साहित्यिक महोत्सब आयोजना गरेको भएपनि बीचका केही बर्षहरुमा त्यसलाई निरन्तता दिन नसकिएको अध्यक्ष थाम्सुहाङ्गले बताउनुभयो । पर्यटनको लागि साहित्य भन्ने मूल नाराका साथ आयोजना हुने साहित्यिक महोत्सवमा नेपालका विभिन्न जिल्ला, भारतको शिलगुढी, दार्जिलिङ्ग, सिक्किम, मणिपुर, आसाम, कलकत्ता, उत्तर प्रदेश, श्रीलंका, भियतनाम र युरोपका केही देशका चर्चित साहित्यकारहरुको उपस्थिति रहने इलाम साहित्यक समाजका सचिव रोशन राईले जानकारी दिनुभयो । यसगरी महोत्सवमा नेपाली चलचित्र क्षेत्रमा आवद्ध चर्चित कलाकारहरु, राजनैतिककर्मीहरुको सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार महोत्सवका लागि अनुमानित २२ लाख खर्च हुने समेत जानकारी गराइएको थियो ।
