इन्टर भूपू समिति भलिबल प्रतियोगिताको उपाधि धरान ‘ए’ को पोल्टामा

धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले भारतको राष्ट्रिय पर्वको रुपमा रहेको ७६ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा भारतीय भूतपूर्व सैनिकहरुका बीचमा प्रतियोगितात्मक भलिबल खेलको आयोजना गरेको छ । पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको सक्रियतामा पूर्वाञ्चलमा बसोबास गर्ने भूतपूर्व भारतीय सैनिकहरुका १० वटा समितिका ११ वटा टिमबीचमा पौष २२–२४ अर्थात जनवरी ६–८ सम्म कार्यालय परिषरमा भलिबल प्रतियोगताको आयोजना गरिएको थियो । पूर्वाञ्चल स्तरीय अन्तर भूपू समितिका बीचमा गत बर्ष पहिलो भलिबल प्रतियोगिता भएको थियो । हाल सम्पन्न दोस्रो भलिबल प्रतियोगिताको आयोजना गर्नुको प्रमुख उद्देश्य केवल हारजीत नभएर भूपू समिति र समितिमा आवद्ध भारतीय भूतपूर्व सैनिक र पेन्सन वितरण कार्यालयबीच पुनर्मिलन, मेलमिलाप, एकता र मित्रता रहोस् भन्ने हेतुले कार्यालय परिषरकै प्रांगरणमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा पुल ‘ए’ तर्फ धरान ए, बेलबारी, बेल्टार, धनकुटा, तरहरा र पुल ‘बी’ तर्फ धरान बी, विर्तामोड, दमक, शान्तिनगर, पेन्सन वितरण कार्यालको टोली सहभागी भएका थिए ।


बुधबार भएको फाइनल प्रतियोगितामा धरान ‘ए’ र धरान ‘बी’ का बीचमा कडा प्रतिष्पर्धा भएको थियो । वेस्टअफ थ्रि का आधारमा भएको उक्त प्रतियोगिताको प्रारम्भदेखि नै दर्शकदिर्घामा भएका पेन्सन वितरण कार्यालयका कर्मचारी, उनीहरुका परिवार, खेलाडीका आफन्त, भूपू सैनिकहरु तथा अन्य आगन्तुकहरु टिम ‘ए’ र टिम ‘बी’ का बीचमा विभाजित भएर आफ्नो टिमको विजयका लागि हुटिङ्ग गरिरहेका थिए । अन्तत ः धरान ‘ए’ ले ५० अंक र धरान ‘बी’ ले ४९ अंक बटुल्दै विजेता र उपविजेता भएका थिए । बिजेता टिम ‘ए’ बाट देउकुमार लिम्बुको क्याप्टेनमा पृथ्वीबहादुर श्रेष्ठ, धनकुमार राई, प्रसाद राई, जितमणि राई, दिलकुमार लिम्बु, राजकुमार राई, दुर्गाबहादुर लिम्बु र धरान ‘बी’ बाट हर्कराज राईको क्याप्टेनमा वेविन्द्र कुमार राई, नगेन्द्र राई, रमेश कुमार राई, रनध्वज राई, मणिराज राई, धनकुमार राई सहभागी हुनुभएको थियो । विजेता र उपविजेता दुवै टिमलाई प्रभारी अधिकारी मेजर भरत कनौजियाले शिल्ड तथा ट्रफी प्रदान गर्नुभएको थियो । उहाँले प्रतियोगितामा सबै भूपू खेलाडीहरुलाई बधाई समेत दिनुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने प्रतियोगितामा विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई गणतन्त्र दिवस अर्थात जनवरी २६ का दिन नगद तथा प्रमाणपत्र वितरण गरिने एडम्स कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया