धरान / संविधानको प्रारम्भिक मस्यौदाको राय सुझाव संकलन कार्यमा सुनसरीको धरानमा भने शुरुमै विवाद उत्पन्न भएको छ ।
धरान ८ लांगाली वन उपभोक्ता समितिको प्रांगरणमा भएको राय सुझाव संकलनमा हलभित्र राय संकलनको काम भइरहेको समयमा पहिचानवादी पार्टीहरुले मस्यौदा औचित्यहीन भएको, सबैलाई नसमेटिएको भन्दै नारा जुलुस गरेपछि प्रहरीले हलबाहिर निकाल्न खोज्दा लाठी जार्च गरेको थियो । करिब एक घण्टा मस्यौदा राय सुझाव लिने काम समेत अवरुद्ध भएको थियो ।
प्रहरीको लाठी चार्जपश्चात उग्र
रहेका संघीय लिम्बुवान पार्टी लगायतका कार्यकर्ताहरुले पुन : जवरजस्ती हलभित्र छिर्न खोजे । सुरक्षामा खटिएका प्रहरीले पुन : उनीहरुलाइ भित्र पस्न दिएन । दुवै पक्षबीच धकेलाधकेल भएपनि स्थितिले अझ उग्र रुप लिएको थियो ।
बाहिर विरोध जनाइरहदा भित्र भने सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राई सहित अथितिको रुपमा सुनसरी क्षेत्र नं. २ का सभासद रेवती रमण भण्डारीको उपस्थितिमा जनताको राय सुझाव संकलन सञ्चालन भइरहेको थियो ।
राय सझावमा भिन्न विचार
राख्नेहरुले विरोध सही भएको यता सर्वसाधारणको भनाई छ । चार दलले बनाएको प्रारम्भिक मस्यौदा कुनै पार्टीको घोषणापत्र जस्तो भएको बताउदै यसको औचित्य नभएको बताएका छन् ।
चार दलको १६ बुदे सहमतिपश्चात बनेको मस्यौदामा नामांकन र सिमाकंन स्पष्ट उल्लेख नभएको र यसले फेरि जनतालाई झुक्याएर पुन एकात्मक शासन लाद्ने प्रयास गरेको आरोप पहिचानवादी पार्टीहरुको छ ।
विगतमा भएक सहमतिलाई लत्याएर नामांकन र सीमांकनविनाको मस्यौदाले नेपालका सबै पक्षलाई नसमेट्ने भएकोले यसको विरोध सुरुदेखि नै गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताउनुभयो । यो मस्यौदाको कुनै औचित्य नभएकै कारण आफूले च्यातेको प्रतिक्रिया समेत दिनुभयो ।
मस्यौदामा फरक मत राख्दै आएको राष्टिूय प्रजातन्त्र पार्टी नेपालले समेत राय सुझाव संकलन स्थलमै ज्ञापनपत्र बुझाएको छ । नेपाललाई धर्म निरपेक्ष राष्ट घोषणा गरेर धार्मिक सहिष्णुता खल्बलाउने काम गरेको भन्दै नेपाललाई हिन्दु राष्टू कायम गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ । पार्टीका धरान नगर अध्यक्ष जुद्ध लोहनीले नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु घातक भएकोले हिन्दुराष्टू घोषणाका लागि ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।
यता सुनसरी क्षेत्र नं. १ बाट दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएका तथा राय सुझाव संकलनका लागि आउनुभएका सभासद कृष्णकुमार राईले विरोधीहरुले विरोधको प्रक्रियाप्रति असन्तुष्ट व्यक्त गर्नुभयो । उहाले आफूलाई पनि यस मस्यौदामा धेरै कुरा चित्त नबुझेको उल्लेख गर्दै यो संविधान त्यसैको लागि सुझाव संकलन गरेको बताउनुभयो । उहाले यो मस्यौदा अन्तिम नभएको भन्दै यही सुझाव संकलनबाट यसलाई अन्तिम रुपम दिने समेत उल्लेख गर्नुभयो ।
