रहनु भएन प्रजातन्त्रका योद्धा सिंह

धरान । लौह पुरुष गणेशमानसिंहको आजीवन सन्निकट रही प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दागर्दै घरपरिवार विहीन
(अविवाहित) जीवन बिताउदै आउनु भएका काठमाण्डौ महानगरपालिकाका प्रथम मेयर पिएल सिंह अब रहनु भएन । पौष १ गते राति १ बजे ८८ बर्षको उमेरमा आश्रय लिएर बस्नु भएको चाम्सीबारी निवासमा उहाँको निधन भएको थियो । काठमाण्डौ महानगरपालिकालाई महानगर बनाउने गुरुयोजना सिंहले नै ल्याउनु् भएको थियो । आफ्नो साख्यै पुत्र नभएपनि गणेशमानसिंह र मंगलादेशी सिंहले जेष्ठ सुपुत्रको रुपमा लालनपालन गर्नुभएको थियो ।

सिंहको निधन पश्चात पौष १ गते नेपाली काँग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, पूर्वमन्त्री समेत भइसक्नु भएका प्रमेलाल सिंह (पिएल सिंह) ले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल जीवन, भारतमा निर्वासित जीवन व्यथित गर्नुभएको थियो । प्रजातन्त्र पुन ः प्राप्ति पश्चात २०४९ सालमा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ काठमाण्डौ नगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय सिंहकै पहलमा २०५२ सालमा काठमाण्डौ नगरपालिकालाई महानगर घोषणा गरिएको थियो । २०५६ सालमा उहाँ नेपाली काँग्रेसको कन्द्रीय कार्यसमितिको सदस्य हुनु भएको थियो । नेपाली काँग्रेसले एक शोक प्रस्ताव पारित गरी पौष १, २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरुमा आधा झण्डा झुकाउन, २ गते केन्द्र तथा प्रदेश तथा जिल्ला कार्यालयहरुमा शोक पु्स्तिका राख्ने र १३ दिनको दिन काठमाण्डौमा शोक सभाको आयोजनाको गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया