उद्यौली पर्वको अवसरमा शुभकामना आदानप्रदान

धरान । मंसिरे पुर्णेमा पर्ने उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर र भुजेली पर्व तथा धान्य पूर्णे र गोठ पूजाको अवसरमा कांग्रेसले शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा चार किरात, नेवार, भुजेल, खसक्षेत्री तथा ब्राम्हण समुदायले परम्परागत रुपमा मान्दै आएको पर्वहरुका अवसरमा कार्यक्रम गरेको हो । मंसिरे पूर्णेको दिन राई जातिले उधौली साकेला, लिम्वु जातिले चासोक तङ्नाम, नेवार जातिले यमोरी पून्ही, याक्खा जातिले चासुवा, सुनुवार जातिले फोल ष्यांदर र भुजेल जातिले भुजेली पर्वको रुपमा मनाउने गरेका छन् । त्यसैगरी मंसिरे पूर्णे कै दिन ब्राम्हण समुदायले धान्य पूर्णे र खसक्षेत्रीय समुदायले गोठ पूजाको रुपमा मनाउने गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले राजनीतिक दलका हैसियतले गत वर्षदेखि नेपाली कांग्रेसले आदिवासी जनजातिका मौलिक पर्वहरुका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम राखेर जातिय तथा सांस्कृतिक विभेद अन्त्यका लागि महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् सांसद मिना सुब्बाले जातिय र धार्मिक एकता कायम हुनुपर्नेमा जोड दिंदै कांग्रेस क्षेत्रीय समितिले उदाहरणीय कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले कार्यक्रमको उच्च प्रशंसा गर्दै नेपाली कांग्रेस सबैको पहिचान र सह अस्तित्वका लागि प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा ब्राम्हण समाजका केन्द्रीय उपाध्यक्ष वासु बराल, किरात याक्थुङ चुम्लुङ सुनसरी उपाध्यक्ष स्वर्णिम हाङ फोम्वो, सुनुवार सेवा समाज धरानका अध्यक्ष गोपाल सुनुवार, किरात राई यायोक्खा धरानका अध्यक्ष लिला राई, किरात याक्खा छुम्मा धरानका अध्यक्ष हेन्सेन याक्खा, नेवा देय दवू धरानका अध्यक्ष मनोहर शाक्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कोशी प्रदेश सांसद ममता तामाङ, नेपाली कांग्रेसका कोशी प्रदेश सदस्यद्धय अन्जना राई र गणेश परियार, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, जिल्ला सदस्य अनुपमा सुनुवार, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, सुनुवार सेवा समाज सुनसरी अध्यक्ष तार्जन सुनुवार, नेपाल खस समाज प्रतिष्ठान धरानका अध्यक्ष व्रिजेश थापा लगायतको उपस्थिति रहेको थियो । साकेला सिलीमा सामुहिक सांस्कृतिक नृत्य समेत भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका
थिए ।

तपाईको प्रतिक्रिया