धरान । विगत केही दिनदेखिको अविरल भारी बर्षाका कारण काठमाण्डौ लगायत देशका हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाइते हुनुपरेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेकोप्रति राजा ज्ञानेन्द्र शाहले आफूलाई अत्यन्तै पीडा भएको बताउनु भएको छ । उहाँले एक सामयिक सन्देश जारी गर्दै यो दुःखद् सन्दर्भमा हामी मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र तिनका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं भन्दै सन्देशमा अगाडि भनिएको छ, यो बेला भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदाहुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निक्कै नै दुःखद् कुरा हो ।

सन्देशमा भनिएको छ हाम्रो जस्तो पूर्वतीय मुलुकमा बाढी, डुबान र भुक्षयको जोखिम हरेक बर्ष हुने प्रक्रिया हो । त्यसैले रोकथाम र सजकताको निम्ति समयमै पर्याप्त व्यवस्थापनमा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ । दशै र तिहार जस्ता महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आगमनका धेरै राजमार्ग र सडक सञ्जालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएकोप्रति पनि हाम्रो चासो रहेको साथै यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, बेपत्ताको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनुपर्ने धारणा राख्दै अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको दतारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ । सन्देशको अन्त्यमा भनिएको छ, प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रक्रिया अघि बढ्नुपर्छ । हाम्रो परवेश माथि खेलबाड हुने वस्ती, व्यवस्था र विकास गतिविधिले विपत्ति र विनासमात्रै निम्त्याउँछ । त्यसमा हामी सबैको ध्यान पुग्नुपर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्याथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।
