लगातारको बर्षासँगै आएको पहिरोमा परी पाँचथर, इलाम, धनकुटामा दर्जनौको मृत्यु घरबारविहीन परिवारको विचल्ली : हजारौ खेतियोग्य जमिन बगरमा परिणत

धरान । असोज ८ गते देखि १२ गतेसम्मको लगातारको भीषण बर्षासँगै आएको पहिरोमा परी पाँचथर, इलाम, धनकुटामा दर्जनौको मृत्यु भएको छ, हजारौ विघा खेतियोग्य जमिन बगरमा परिणत भएको छ भने घरबारविहीन परिवार विचल्लीमा परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दहालका अनुसार पाँचथरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् । असोज १२ गते विहान पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १ साँगेबोटस्थित राजकुमार नेम्बाङ्गको घर पहिरोले बगाउँदा सो घरमा डेरा गरी बस्दै आएका फुरुङ्गा हाइड्रो पावरका कर्मचारी फिदिम नगरपालिका १ का ५० बर्षीय गोपी विश्वकर्मालाई पहिरोले पुर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । यसैगरि सोही हाइड्रो पावरकै कर्मचारी फिदिम १ कै ५१ बर्षीय कृष्ण दाश र उनकी ४२ बर्षीया श्रीमति कमला दाश, फिदिम १ का ५२ बर्षीय धनकुमार तुम्वापो र फिदिम १ की २१ बर्षीया सरस्वता तुम्बापो पहिरोमा परी बेपत्ता भएका छन् । उता फिदिम नगरपालिका ४ चिसापानीस्थित फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम १२ की २४ बर्षीय सपना शेर्पा र उनकी ६ बर्षीया छोरी डोल्मा शेर्पा आदिवासी जनजाति महासघको टिनको छाना भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किच्दा दुवै जनाको मृत्यु भएको थियो ।

यता धनकुटा जिल्लामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । प्रवक्ता दाहालका अनुसार धनकुटाको पाख्रीबास नगरपालिका ५ गुराँसे देवीनाथस्तिथ पहिरोमा परी दुईजनाको मत्ृयु भएको हो । असोज १२ गते शनिवार विहान पाख्रीबास ५ सन्तोष तामाङ्गको घरमा माथिबाट पहिरो झर्दा किचिएर उनकी ३२ बर्षीया श्रीमति आशा तामाङ्गको घटना स्थलमै मृत्यु भएको थियो भने उनकी सासु आमा ५० बर्षीया रामुकमारी तामाङ्गको समेत मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीरक्षक श्यामसिंह चौधरीको नेतृत्वमा पुगेका प्रहरीको उद्धार टोलीले पुरिएको अवस्थामा दुई जनाको शव निकालेको थियो भने सोही घरमा रहेकी छिमेकी २४ बर्षीया मिना तामाङ्गको सकुसल उद्धार गरि उपचारार्थ धनकुटा अस्पताल पठाइएको थियो । धनकुटा जिल्लाकै छथर जोरपाटी गाउँपालिका वडा नं. २ का चन्द्रबहादुर बाजिम्पाक मगरको घरमा माथिबाट झरेको पहिरोमा पुरिदा उनकी २० बर्षीया छोरी सिर्जना वाजिम्पाक मगर गम्भीर घाइते भएकी थिइन् । हाल उनको उपचार धनकुटा अस्पतालमा भइरहेको छ । उता इलामको माइजोगमाइ नगरपालिका ८ स्थित सेते खोलाले बगाउँदा एक जना बृद्धको मृत्यु भएको थियो । असोज ११ गते दिउँसो माइनगरपालिका ८ स्थित सेते खोला तर्ने क्रममा मैतबहादुर लिम्बुलाई खोलाले बगाएर सख्त घाइते बनाएको उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । यसैगरि खोलाले बगाउँदा झापामा तीन जना र मोरङ्गमा एकजनाको मृत्यु भएको छ । झापाको कचनवल गाउँपालिका १ स्थित जमुवा खोला तर्ने क्रममा स्थानीय पंचु राजवशीका १३ बर्षीया छोरी नेहारिका राजवंशीलाई वेपत्ता बनाएको थियो । झापाकै कमल गाउँपालिका १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा ३५ बर्षीय टिकाराम चौधरी खोलामा डुबी बेपत्ता भएका थिए । यसैगरी मोरङ्गको रतुवामाइ नगरपालिका ६ की ७२ बर्षीया डुरोदेवी राजवंशी झापाको गौरादहबाट मोरङ्गको सिजुवा आउने क्रममा रतुवा खोला तर्दा बेपत्ता भएकी छन् । लगातारको पाँच दिनको भीषण बर्षाले करोडौको धनजनको क्षति भएको छ । मेची राजमागमा पहिरोले सडक बगाउँदा इलाम, पाँचथर, ताप्लेजुङ्गसँगको यातायात सम्पर्क टुटेको छ । पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि पाँचथर ताप्लेजुङ्गसँगको सम्बन्ध अनिश्चित कालका लागि टुटेको छ । इलामका सञ्चार सहकर्मी सोम सुसेलीका अनुसार इलामको सन्दकपुरको सडकमा रहेका पुल बाढीले पूरै कटान गरेका कारण आवतजावत ठप्प भएको छ ।

तपाईको प्रतिक्रिया