ताप्लेजुङको पाथीभरामा भक्तजन बढे : दुइ महिनामै १८ लाख भन्दा बढी भेटी संकलन

धरान । इटहरीका बालगोपाल श्रेष्ठ अत्याधिक गर्मी बढेको समयमा लेकको चीसो पनि खाने र भाकल पूरा पनि गर्ने भन्ने उद्देश्य बोकेर ताप्लेजुङको पाथीभरा मन्दिरमा पुग्नुभयो । भाकल पूरा गर्नकै लागि उहाँ पुग्नुभएका उहाँले पाथीभराको दर्शन र भाकल पूरा गर्दा मनोकांक्षा पुरा हुने बताउनुभयो । यस्तै धरान १५ का श्याम श्रेष्ठको भनाई पनि इटहरीका बालगोपालको भन्दा फरक थिएन । बषौदेखिको बाँकी रहेको भाकल पूरा गर्न तराईमा उद्युम गर्मी भएको बेला गर्मी छल्ने र भाकल पूरा गर्ने उद्देश्यले परिवारसहित पाथीभरका पुग्नुभयो । तराईमा अत्याधिक गर्मी बढेको बेला चिसो ठाउँमा पुग्ने र भगवानको पनि दर्शन गर्ने उद्देश्यले धेरै सर्वसाधारण ताप्लेजुङको पाथीभरामा पुगेका छन् ।

मन्दिरमा अत्याधिक चाप बढेकै कारण पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
गत साउन र भदौमा भक्तजनले मन्दिर चढाएको रकम १८ लाख २६ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको समितिले जनाएको छ । समितिका अनुसार साउनमा ६ लाख ९१ हजार र भदौमा रु ११ लाख ३५ हजार पाँच सय ५५ भेटी संकलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या १ हजार ९ सय ५५ थियो भने भदौमा यो संख््या बढेर नौ हजार ९ सय ३९ पुगेको थियो । तराईमा बढेको अत्याधिक गर्मीसँगै दशैँ समेत नजिकिएका कारण आगामी दिनमा भक्तजनको संख्या अझै बढ्ने संकेत देखिएको समितिले जनाएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने समितिले जनाएको छ । पाथीभरा मन्दिर नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल हो । समुद्री सतहदेखि करिब ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको यो मन्दिरमा बर्षेनी भक्तजनहरु बढ्दै गएको समितिले जनाएको छ । यो मन्दिरको ऐतिहासिकतालाई समेत मनन गरेर नेपालबाटमात्र हैन भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेको समितिले जनाएको छ । पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिला सन्तान प्राप्तिका लागि, रोगव्याधि निको पार्न तथा इच्छित कामना पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ ।

तपाईको प्रतिक्रिया