भारतको ७८ औ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा नेपाल–भारत मैत्री संघद्वारा रक्तदान

धरान । अद्वितीय र अटुट सम्बन्ध रहेको मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा नेपाल–भारत मैत्री संघ सुनसरीद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको प्रमुख आतिथ्यमा धरानको लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्याक्रमको सह आयोजकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति सुनसरी र धरान सिटी कलेज रहेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ७० पिण्ट रगत संकलन भएको आयोजक नेपाल भारत मैत्री संघ सुनसरीका सह–सचिव गौरवमान श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ विरामीहरुका लागि रगतको अभावलाई पूरा गर्न ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नारालाई सार्थकता दिँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।


सो अवसरमा बोल्दै भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले भन्नुभयो मेरो लागि धेरै गर्भको कुरा छ कि म यस्तो देशमा आएर आफ्नो काम गरिरहेको छु जुन एउटा फौजीले कहिल्यै पाउँदैन । यस्तो कुुनै अवसर पाउँदैनन कि जुन मानिसहरुका लागि सेवा प्रदान गर्ने मौका हामीले कहिल्यै पाउँदैनौ । यो मेरो लागि शौभाग्यको कुरा हो म हाल भारतीय पेन्सन वितरण कार्यालयको प्रभारी छु । जसको कारणले मैले धरानको अफिसमात्र नभएर नेपालको कोशी प्रदेशका १४ जिल्लाका सम्पूर्ण पेन्सनरहरुलाई हेर्ने मात्र नभएर हामीले सप्तरी, सिराहा, रामेछाप, जनकपुरका पेन्सनरहरुलाई पनि धरानकै अफिसले सेवा प्रवा गरिरहेको छ । हाम्रा जति पनि भूपूहरु हुनुहुन्छ उहाँहरुको सेवा प्रदान गर्ने मौका पाएको छु । उहाँले भन्नुभयो नेपाल र भरत एउटै अंग जस्तै छ । हामीले चाहेर पनि एक अर्काबाट विभाजित हुन सक्दैनौ । यो हाम्रो बीचको महत्वपूर्ण सम्बन्धको विषयमा जति चर्चा गरेपनि कम हुन्छ । हामी बीचमा रोटीबेटीको सम्बन्ध छ, धर्म, संस्कार सबै हामी बीचमा समानता छ । त्यसकारण नेपालीले भारतमा गएर काम गर्ने र भारतका मान्छेले यहाँ आएर काम गर्न समस्या हुँदैन । नेपाल भारतको मैत्रीलाई थप अगाडि कसरी बढाउने भन्ने सम्बन्धमा इमान्दारितापूर्वक काम गर्नुपर्छ । नेपाल भारत मैत्री संघले भारतको ७८ औ स्वतन्त्रता दिवस अन्यत्र पनि यसैगरि सुजनात्मक काम गरेर मनाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो स्वतन्त्रता दिवस भारतमा हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । उहाँले भन्नुभयो, नेपाल भारत मैत्री संघ सुनसरीले भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्नु आफैमा खुशीको कुरा हो । रक्तदान जीवन दान हो । अहिले कोशी प्रदेशमा रगतको अभाव छ । थोरै भएपनि विरामीहरुलाई संकलित रगतले रात प्रदान गर्नेछ । आयोजक सबैलाई उहाँले धन्यवाद दिनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न पनि उहाँले आग्रह गर्नुभयो । सो अवसरमा आयोजकका तर्फबाट प्रभारी अधिकारी मेजर भरत कनौजिया, एमआइआर रुमका डा. स्वामी, सुरक्षा इन्चार्ज सिवि राईलाई मायाँको चिनो प्रदान गरिएको् थियो । नेपाल भारत मैत्री संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार अग्रवाल, नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापा, सुनसरी उद्योग वाणिज्य संघका सभापति विजय श्रेष्ठले पनि नेपाल भारत सम्बन्धको चर्चा गर्दै ७८ औं स्वतन्त्रता दिवसको भारत ससकार, भारतीय नागरिकलाई शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया