भेडेटारको पाथीभरामा दर्शनार्थीको भीड बढ्दै

धरान । कोशी प्रदेशको पर्यटकीय क्षेत्र सागुरीगढी गाउँपालिकाको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा पूजा गर्न आउने भक्तजनहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । सेन वंशीय राज्यका सेनाले पुजा अर्चना शुरु गरेको कथन रहेको मन्दिरमा भाकल पुरा गर्न आउनेको भिड बढ्न थालेको हो । .पाथीभरा देवीको मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको भिड लाग्ने गरेको छ । भेडेटार बजारबाट आधा घण्टाको पश्चिमतर्फको पैदल यात्रा तय गरेपछि पाथीभरा मन्दिर पुग्न सकिन्छ । कोशी प्रदेशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारलाई पाथीभरामन्दिरले पर्यटक तान्न मद्धत गरेको मन्दिरका पूजारी आइतबहादुर लिम्बु बताउनुहुन्छ । उहाँले नेपालबाटमात्र हैन भारत लगायतका देशबाट समेत दैनिक २ सय जना भन्दा बढी भक्तजनहरु आउने गरेको बताउनुभयो । उहाँका अनुसार बार्षिक ४० देखि ५० भक्तजनहरु मन्दिरमा भाकल पुरा गर्न र पूजाआजाका लागि आउने गरेका छन् । विगतमा देवीको यो मन्दिरमा भेडा, बोका, पाठीको बलि दिने गरिएको भए पनि पछिल्लो समय भने बलिको साटो परेवा उडाउने, फलफूल चढाउने र देवीको श्रृंगारको सामग्री चढाउने चलन रहेको पूजारी लिम्बु बताउनुहुन्छ । पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिएको भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिएको कुरा किवदन्तीमा उल्लेख छ । गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परेको पूजारी लिम्बुले सुनाउनुभयो ।
े पाथीभरा मन्दिर तत्कालिन सेन वंशीय राजाले स्थापना गरेको सागुरीगढीमा तैनाथ सेनाहरुले निशान देवीको पुजा गर्न थालेसंगै पाथीभरा देवीको स्थापना भएको पाथीभरा मन्दिरका मुख्य पूजारी लिम्बू बताउनुहुन्छ ।


१४ सय ५१ मिटरको उचाईमा रहेको देवीको मुर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पुजा गरिदै आएको छ । ताप्लेजुङको पाथीभरा देवीको मन्दिर देखिने गरी राखिएकोले यसलाई ताप्लेजुङकै पाथीभरा मन्दिरको प्रतिकको रुपमा भक्तजनहरुले लिने गरेका छन् । भेडेटार घुम्न आएकाहरु आकर्षक पर्यटकीय क्षैत्रको घुमघामसँगै पाथीभरा मन्दिरको दर्शन गरेर जाने गरेका छन् । भेडैटारमा रहेको पाथीभरा मन्दिरमा दर्शन गर्न गए आफूले चिताएको पुग्ने जनविश्वास रहेकै कारण सुनसरीको दुहवी नगरपालिकाबाट भेडेटार घुम्न आउँदा स परिवार पाथीभरा मन्दिर दर्शन गर्न आएको मन्दिरमा भेटिनु भएका विजयकुमार गौतमले बताउनुभयो । गर्मी छल्न आएकोको मौकामा पाथीभरा मन्दिरको दर्शन गरेरै जाने यौजना बनाएर घरबाट निस्किएको उहाँको भनाई छ । ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरुले यहीबाट भाकल चढाउने गरेको पुजारी लिम्बूले बताउनुभयो । पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको बन्दै गएको छ । पाथीभरा मन्दिर घुम्न आउनेहरुका लागि पुग्नैपर्ने ठाउँको रुपमा सर्वसाधारणले लिन थालेपछि मन्दिरमा भीड बढ्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको भौतिक संरचनामा निर्माणमा समेत स्थानीय सरकार र कोशी प्रदेशले चासो दिँदै आएका छन् । मन्दिरलाई व्यवस्थित बनाउदै भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर कावा अध्यक्ष थामेश्वर सुब्बाको अध्यक्षतामा बनेको ११ सदस्यीय पाथीभरा मन्दिर व्यवस्थापन विकास समितिले मन्दिरको समग्र विकासमा ध्यान दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया