धरान । धरान १४ विजयपुरमा रहेका मठ मन्दिरमा चहलपहल बढिरहँदा धरान ५ मा रहेको निशानदेवी मन्दिर सुनसान रहेको छ । एतिहासिक मन्दिर भए पनि पूजा आजामा हम्मेसी कोही पुग्दैन । मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने योजना धरान उपमहानगरपालिकाले लिए पनि यसको प्रवद्र्धनमा उपमहानगरपालिकाले चासो सम्म दिएको छैन ।

साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने धार्मिक क्षेत्रको रुपमा रहेको निशानदेवी मन्दिर । मन्दिर भगनावेश अवस्थामा रहेको छ । पौराणिक इतिहास बोकेको मन्दिर भए पनि यसको संरक्षणमा नगरपालिकाको चासो पाइदैन ।
३० बर्ष अगाडि यो मन्दिर जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको पुजारी विद्युर भण्डारी बताउनुहुन्छ । मन्दिरको स्थापनाको विषयम सबैको एक मत नभए पनि पौराणिक कालमा विजयपुरको निशानाको रुपमा यो मन्दिर स्थापना भएको पूजारी भण्डारी बताउनुहुन्छ ।
धरानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अगाडि सारेको धरान उपमहानगरपालिकाको आखा सम्म यो मन्दिरसम्म पुग्न सकेको छैन । जीर्ण भत्किन लागेको यो मन्दिर संरक्षणसँगै मन्दिर आसपासमा घेराबेरा गरिदिने कामलाई अगाडि बढाउन लागिएको धरानका समाजसेवी अशोक अग्रवाल बताउनुहुन्छ । सकारको आँखा नपुगेपनि स्थानीयले यो मन्दिर संरक्षण गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकी बताउनुहुन्छ । उहाँले ऐतिहासिक मन्दिर भएपनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको उहाँ बताउनुहुन्छ ।
धरान उपमहानगरपालिकाले धरानको विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, पाथीभरा र विष्णुपादुकालाई धार्मिक क्षेत्रको विकास गरेर लाने योजना राखे पनि पुरानो तर ऐतिहासिक महत्व बोकेको निशानदेवी मन्दिरको संरक्षणमा खासै चासो देखाएको छैन । यो मन्दिरका छाना चुहिने अवस्थामा पुगेका छन् भने मन्दिरका भित्ता भत्केर जीर्ण बनेका छन् । यस्ता ऐतिहासिक, पुरातात्विक महत्व बोकेका मठ मन्दिरको संरक्षणमा अब स्थानीय सरकार गम्भीर भएको पाइदैन । यस्ता ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण नहुने हो भने नामेट हुने अवस्थामा पुग्न सक्छ । त्यसैले यस्ता सम्पदाको संरक्षणम स्थानीय सरकारले चासो देखाउन जरुरी छ ।
