धरान । गरिब तथा असहायका लागि काम गर्दै आएको धरान १९ स्थित अपाग तथा असहाय केन्द्रले अति विपन्न तथा अपांग भएकाहरु २० जनालाई स्वास्थ्य विमा गरिदिएको छ । आर्थिक अभावकै कारण उपचार गर्न नपाएका अपांग बालबालिकालाई लक्षित गरी उनीहरुलाई विभिन्न अस्पतालमा लागू हुने गरी विमा गरिदएको हो । अपांग तथा सहायका लागि सहयोगी हातहरुसँग समन्वय गरेर सहयोग गर्ने पुलको काम गर्दै आएको यो संस्थाले अपांग तथा असहाय व्यक्ति, बालबालिकालाई स्वास्थ्य, शिक्षासँगै खाद्यान्नको व्यवस्था गर्दै आइरहेको छ ।
केन्द्रले पछिल्लो समय सहयोगी हातसँग समन्वय गर्दै विमासँगै २० परिवारलाई खाद्यान्न वितरण, अपांगता भएका तथा असहाय बालबालिकाहरु–९ जनालाई शैक्षिक सामग्री समेत वितरण गरेको थियो ।

सहयोगी दाता उद्योगी तथा व्यवसायी विष्णुप्रसाद तिम्सिनाले सानो सानो सहयोगले यस्ता वर्गकोको सहयोगमा सहज हुने बताउनुभयो । उहाले आगामी दिनमा सहयोगी हातहरुसँग समन्वय गरेर सहयोगलाई बढाउदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले प्रति महिना रु २५ हजारका दरले वार्षिक ३ लाख रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभयोे । यस्तै उहाँले धरान ६ का जन्मै अपागता भएका बालकको घर निर्माणमा ६० हजार घोषणा गरेसँगै सोही बालकका लागि देवम फार्मेसीका सञ्चालक उत्तम राईले १५ हजार र धरान १३ व्यवसायी विश्व मानन्धरले १० हजार दिने घोषणा गर्नुभएको छ । सो अवसरमा संस्थाकी अध्यक्ष डम्बरकुमारी मास्केले आत्मनिर्भर बन्ने खालका तालिमसँगै सीप सिकिसकेपछि चाहिने सामाग्री समेत यस्ता वर्गहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । डिप्लोमा हेण्ड्रिक्राफ्स समेत सञ्चालन गर्दै आउनु भएकी अध्यक्ष मास्केले अपांगहरुलाई आत्मनिर्भर बनाउन तालिम दिँदै व्यवसायिक बनाउने र उत्पादन भएको सामाग्रीको बजारी करण समेत गरिदिदै आएको बताउनुभयो् । यस संस्थाले गरेको सहयोगकै कारण अपांग तथा असहाय भएका व्यक्ति, बालबालिकाहरुले आर्थिक, सामाजिक रुपमै सहजता महसुस गर्दै आइरहेका छन् ।
