विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङमाथि भएको कुटपिटको घटनाप्रति विभिन्न विद्यार्थी संगठन र प्राध्यापकहरुले विरोध गरेका छन् । तामाङलाई बिहीबार बिहान क्याम्पस लागिरहेको समयमा उनको कार्यकक्षमै पुगेर स्ववियु सदस्य समेत रहेकी अनेरास्ववियुकी नेतृ रिङ्कु चौधरीसहितको समूहले आक्रमण गरेको थियो । तामाङलाई कुटपिट गर्न चौधरीसहित अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष माधव पासवानसहितको समूह तामाङको कार्यकक्षमा पुगेको थियो । उक्त घटनाको विरोधमा संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महेन्द्र मोरङ क्याम्पस नेविसंघका प्रशान्त यादव, अखिल क्रान्तिकारीका रोहित यादव, समाजवादी विद्यार्थी युनियनका राकेश यादव, अनेरास्ववियू समाजवादीका गिरेन्द्र भुजेल, स्वतन्त्र विद्यार्थी मञ्चका प्रबल अधिकारी, नागरिक विद्यार्थी समाजका हरेराम शर्मा र अखिल समाजवादी (विप्लव)का भुवनेश्वर साहले स्ववियु सदस्य रिन्कु चौधरी तथा अनेरास्ववियु इकाई अध्यक्ष माधव पासवानलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तै महेन्द्र मोरङ आदर्श क्याम्पसको नेपाल राष्टिूय प्राध्यापक संगठनले पनि घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।
